बैशाख २९, कैलाली । कैलाली जिल्लास्थित बेहडाबाबा उच्च माध्यमिक विद्यालय, उर्माका तत्कालिन प्रधानाध्यापक गोविन्दराज ओझा समेतले विभिन्न आर्थिक बर्षहरूमा विद्यालयको रकम हिनामिना गरेको पाइएको छ ।
बेहडाबाबा उच्च माध्यमिक विद्यालय, उर्माका तत्कालिन प्रधानाध्यापक गोविन्दराज ओझा समेतले मिति २०७०।०२।१४ गते देखि उक्त बिद्यालयमा गैरहाजीर रहेका शिक्षकको जानकारी सम्बन्धित निकायमा नगराई गैरहाजिर रहेका शिक्षकको नाममा माग फारम भरी २०७३ बैशाख मसान्त सम्मको तलवभत्ता भुक्तानी लिइ हिनामिना गरेका हुन । साथै बिद्यालयको सामान खरिद तथा बिद्यालयले तोकेको शिर्षकमा रकम खर्च नगरी झुट्ठा बिल भर्पाई बनाई निकासा भएको रकम हिनामिना, हानिनोक्सानी समेत गरेको पाइएको हो ।
आफ्नो ओहदाको कर्तव्य पालन गर्दा सरकारी बिद्यालय जस्तो सार्वजनिक संस्थाको सम्पत्तिको लापरवाही, बदनीयत गरी तत्कालिन प्रधानाध्यापक गोविन्दराज ओझा, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दरवारी राना र लेखापाल गोपाल सेटीले सरकारी विद्यालयको जम्मा एघार लाख बयालिस हजार दुइसय बहत्तर रूपैंया सन्तानव्वे पैसा हानिनोक्सानी हिनामिना गरेको सप्रमाण पुष्टी हुन आएको छ ।
अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले दिएको जानकारी अनुसार भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय (च) बमोजिम सजाय हुन र हिनामिना हानिनोक्सानी गरेको बिगो एघार लाख बयालिस हजार दुइसय बहत्तर रूपैंया सन्तानव्वे पैसा प्रतिवादीहरूबाट भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिम असुलउपर हुन समेतको मागदाबी लिइ आज विशेष अदालत काठमाडौंमा आरोप पत्र दायर गरिएको छ ।