• २०८० चैत्र ३० गते शुक्रवार

नेपाल भ्रमण वर्ष–२०२० लाई राष्ट्रिय उत्सवको रुपमा मनाउन मन्त्री भट्टराईको आग्रह

पढ्न लाग्ने समय : २ मिनेट

मंसिर , २५ काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले पर्यटन व्यवसायीहरुलाई नेपाल भ्रमण वर्ष–२०२० लाई राष्ट्रिय उत्वसको रुपमा मनाउन आग्रह गरेका छन् ।

नेपाल भ्रमण वर्ष–२०२० को सचिवालयले पर्यटन व्यवसायीहरुसँग भ्रमण वर्ष–२०२०को बिषयमा आयोजना गरेको छलफलमा मन्त्री भट्टराईले  भने, ‘सरकार तपाईहरुको साथमा छ, तर अब तपाईहरु पनि माग मात्रै नराख्नुहोस् । सबै मिलेर काम गरौं । नेपाल भ्रमण वर्ष–२०२० लाई उत्सवको रुपमा भव्यताको साथ मनाऔं । हरेक पर्यटन व्यवसायीहरुले उद्घाटनको दिन भव्य दिपवाली गर्नुहोस् । कार्यक्रममा पहिचान सहित आउनुहोस् ।

पर्यटन व्यवसायीहरुलाई आफ्नो कार्यालय, होटल र सार्वजनिक स्थानहरुमा नेपाल भ्रमण वर्ष–२०२०को प्रचार सामग्री राख्न आग्रह  गर्दै उनले भने, ‘हामी अब केही दिनमा तपाईहरुको कार्यालय, होटल, रेष्टुरेन्टहरुमा नेपाल भ्रमण वर्ष–२०२० को प्रचार हुने गरी केही न केही सामग्री राख्नुहोस् । यसको अनुगमन गर्नका लागि हामी तपाईहरुकोमा भ्रमण गर्नेछौं । ‘राम्रो गर्नुहोस् हामी तपाईहरुको कामलाई सम्मान गर्नेछौं ।

मन्त्री भट्टराईले अहिले पर्यटनबाट नेपालको कुल ग्राहस्थ उत्पादनमा ३ प्रतिशत योगदान रहेको भन्दै १५ औं पञ्चबर्षिय योजना सम्पन्न हुदासम्म १० प्रतिशत योगदान गर्ने सरकारको लक्ष्यमा व्यवसायीहरुको सहयोग जरुरी रहेको बताए ।

मन्त्री भट्टराईले १८ मंसिर २०७६ मा नेपालस्थित ३१ देशका राजदुत र पाँच वटा वैदेशिक साझेदार संस्थाका प्रमुखहरुसँग नेपाल भ्रमण वर्ष–२०२०को बिषयमा छलफलको आयोजना गरेका थिए । यसैगरी १९ मंसिर २०७६ मा राजनीतिक दलका प्रमुख र राजनीतिक दल निकट जनसंगठनका अध्यक्षहरुसँग छलफलको आयोजना गरे ।

यसैगरी २४ मंसिर २०७६ मा विदेशी एयरलाइन्सहरूका नेपालस्थित कार्यालयका प्रमुखहरुसँग छलफल गरेका थिए ।

प्रतिक्रिया दिनुहोस