- सागर थापा
भदौ २५, दाङ । दाङमा प्रहरीले छ हजार लिटर मदिराजन्य पदार्थ नष्ट गरिएको छ । घोराही उपमहानगरपालिका–१८ का विभिन्न टोलबाट नियन्त्रणमा लिएको ६ हजार लिटर मदिरा जन्य पदार्थ घोराही उपमहानगरपालिका–१७ पनौरा स्थीत कटुवा खोलामा नष्ट गरेको हो ।
प्रहरीले घोराही–१८ का फुर्सेखाली, गिठेपानी र ढोडेनीबाट अवैध घरेलु मदिरा जन्य पदार्थ नियन्त्रणमा लिएको थियो । उक्त पदार्थ प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाल, जिल्ला प्रहरी प्रमुख जनक भट्राईको उपस्थीतिमा नष्ट गरिएको वडा प्रहरी कार्यालय घोराहीका प्रहरी प्रमुख निरीक्षक शशिधर शर्माले जानकारी दिए ।
अवैध मदिरा नियन्त्रण गर्दा प्रहरीले मदिरा जन्य पदार्थमा मोजा, मरेका मुसा, प्रयोग गरेका प्याडलगायतका बस्तुहरु प्रयोग गरेको पाइएको बताएको छ । प्रहरीले एक महिना पहिले त्यही ठाउँबाट ३४ सय लिटर मदिराजन्य पदार्थ नियन्त्रणमा लिएर नष्ट गरेको थियो । स्थानीयले टोललाई मदिरा निषेधित क्षेत्र बनाउने निर्णय गरेसँगै प्रहरीले सक्रियतामा नष्ट गरिएको हो ।