साउन २६, काठमाडौं । घरेलु तथा साना उद्योग विकास समितिको कार्यालय, दोलखामा कार्यरत खरिदार (प्रा.) पुष्कर अधिकारी उपर विशेष अदालत काठमाडौमा आरोप पत्र दायर गरिएको छ ।
उनले होटल व्यवसाय दर्ता गरिदिने प्रयोजनार्थ सेवाग्राहीसँग घुस माग गरेको भन्ने सूचनाको आधारमा जिल्ला प्रशासन कार्यालय दोलखाबाट खटिई गएको टोलीले उनलाई सेवाग्राहीसँग रू.४,०००।– घुस लिँदै गर्दाको अवस्थामा नियन्त्रणमा लिएको थियो। अन्य सूचनाको आधारमा निजको कोठा खानतलासी गरी कानून बमोजिम बरामद सहित जिल्ला प्रशासन कार्यालय दोलखाको पत्रसाथ अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा दाखिला हुन आएको हुँदा सो सम्बन्धमा निज पुष्कर अधिकारी माथि अनुसन्धान सुरु भएको थियो । अनुसन्धानको क्रममा भेटिएका आधार, प्रमाण र कारणहरूबाट निज पुष्कर अधिकारीले होटल व्यवसाय दर्ता गरिदिने प्रयोजनको लागि सेवाग्राहीसँग रू.४,०००।–घुस लिएको देखिन आईको र उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुर भएको सप्रमाण पुष्टि भएकोले उनलाई बिगो रू.४,०००।–कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय (क) बमोजिम सजाय हुन मागदाबी लिई आज विशेष अदालत काठमाडौंमा आरोप पत्र दायर गरिएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिनुभयो ।