साउन २६, काठमाडौं । महानगरीय प्रहरी बृत्त गौशाला काठमाडौंका प्रहरी नायव निरीक्षकद्वय रमेश बहादुर पाण्डे र राजु स्वर्णकार उपर आज विशेष अदालत काठमाडौंमा आरोप पत्र दायर गरिएको छ ।
उनिहरूले सार्वजनिक मुद्दामा केश चाँडै मिलाएर पठाइदिने भनी सेवाग्राहीसँग घुस रकम माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियार दुरूपयोग अनुसन्धान आयोग टङ्गालबाट खटिई गएको टोलीले निजहरूलाई सेवाग्राहीसँग रू.१८,०००।–घुस वापतको रकम लिइसकेको अवस्थामा रङ्गेहात नियन्त्रणमा लिएको थियो ।
अनुसन्धानको क्रममा निजहरू प्रहरी नायव निरीक्षक रमेश बहादुर पाण्डेले प्रहरी नायव निरीक्षक राजु स्वर्णकार समेतको प्रत्यक्ष संलग्नता र मिलेमतोमा अनुसन्धानको सिलसिलामा थुनामा रहेका व्यक्तिलाई छिटो थुनामुक्त गराइदिने भनी सेवाग्राहीसँग घुस रकम माग गरी लिई निजहरूले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुर गरेको स प्रमाण पुष्टि हुन आएकोलेउनिहरूलाई बिगो रू.१८,०००।–कायम गरी भ्रष्टाचार निवारण ऐन,२०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय (क) बमोजिम सजाय हुन मागदाबी लिई आज विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिनुभयो ।