साउन २६, काठमाडौं । राजधानीको बाँसबारीस्थित सहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा वैशाख २३ गते भएको बालिकाको निधन गलत समूहको रगतकै कारणले भएको कान्सिलले जनाएको छ । काउन्सिलको छानविनपछि बालिकाको निधन गलत रगतकै कारणले भएको हुँदा उपचारमा संलग्न १० देखि १५ जना कर्मचारीलाई स्पष्टीकरणको लागि पत्र काटेको काउन्सिलले जनाएको छ ।
वैशाख २३ गते केन्द्रमा मुटुको भल्वको शल्यक्रियाका क्रममा सर्लाही सिसौटियाकी आकृति कुमारीको मृत्यु भएको थियो । बालिकाका आफन्तले शल्यक्रियाको क्रममा गलत रगत चढाउँदा बालिकाको मृत्यु भएको भन्दै छानविनका लागि काउन्सिलमा निवेदन परेको थियो ।
यसै निवेदनको बारेमा काउन्सिलका इथिकल कमिटीका संयोजक तथा वरिष्ठ डा.ढुण्डीराज पौडेलले गलत रगतकै कारणले बालिकाको निधन भएको बताए । पौडेलले बालिकाको रोग जटिल र उच्चस्तरको शल्यक्रिया गरे पनि बाच्ने सम्भावना निकै कम भए पनि गलत समूहको रगतको कारणले गर्दा झनै समस्या भएपछि निधन भएको बताए ।
बालिकाको रक्त समूह ‘ओ पोजेटिभ’ भएपनि ‘ए पोजेटिभ’ समूहको रगत दिइएको थियो । रोग जस्तो सुकै भएपनि नागरिक उपचारको लागि अस्पताल आइसके पछि उपचार पाउनुपर्ने अधिकार भएको बताउँदै आकृतिको केसमा भने उपचारमा संलग्न स्वास्थ्यकर्मीको टिमबाट गल्ती भएको वरिष्ठ डाक्टर पौडेलले बताए ।
रातोपाटीसँग कुरा गर्दे वरिष्ठ डा.पौडेलले भने ‘बालिकाको रोग जटिल भएपनि लामो समयको अनुसन्धानपछि गलत समूहको रगत दिएकै कारणले निधन भएको कुरा हाम्रो अनुसन्धानले देखाएको छ ,उपचारमा संलग्न १५ जना कर्मचारीलाई स्पष्टीकरण सोधेका छौँ ।’
स्पष्टीकरण सोधिनेमा उपचारमा संग्लन शल्य चिकित्सक, ब्लड बैँकका कर्मचारी, अस्पताल प्रशासनका कर्मचारी लगायत रहेका छन् । एक साता पछि स्पष्टीकरण आउने र त्यसपछि क—कसलाई कारवाही गर्ने भन्ने विषयमा जानकारी हुने डा.पौडेलले बताए ।