असोज २३ भक्तपुर। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले सामुदायीक भवनको उद्घाटन गर्दै जनताबाट अस्विकृत भएका राजनीति दलले विकासमा छिर्केमिर्के गर्नुको कुनै औचित्य नभएको बताउनुभएको छ ।

सूर्यविनायक नगरपालिका चुनदेवीमा चुनदेवी सामाजिक सेवा समाजको आयोजनामा सूर्यविनायक नगरपालिका र सांसद बस्नेतको क्षेत्र विकास कोषको ६०÷४० को लागतमा रु ३२ लाखको लागतमा निर्माण गरिएको सामुदायीक भवनको उद्घाटन कार्यक्रममा बोल्दै सांसद बस्नेतले केही राजनीतिक दलले आफु इतिहासमा नै जनताको आवश्यकता र चाहना अनुसार विकास पनि गर्न नसक्ने तथा वर्तमान समयमा निर्वाचित जनप्रतिनिधिले विकास गरेको पनि विरोध गरेकोमा आक्रोस व्यक्त गर्नुभयो ।
भक्तपुरको विकास देखेर प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेस तथा नेपाल मजदुर किसान पार्टी (नेमपकीपा)ले विभिन्न बहानामा विकासको विारेध गर्ने गरेको बताउँदै उहाँले नेमकिपाले आफ्नो क्षेत्रभन्दा बाहिरको विकास समेत अनावश्यक रुपमा विरोध गर्ने गरेको बताउनुभयो । जनता नै देशको सवभन्दा ठूलो शक्ति रहेको उल्लेख गर्दै भक्तपुरको आर्थिक तथा सामाजिक समृद्धि हासिल गर्दै जनताको चाहना र आवश्यकतालाई पुरा गर्दै अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले भक्तपुर अवका दिनमा देशकै उदाहरणीय जिल्लाको रुपमा परिणत हुने बताउनुभयो ।
बोलेका कुरा र जनताको आवश्यकता अनुसार शतप्रतिशत पुरा गर्ने बताउँदै रात भएकाले दिनको महत्व छ, दुःख भएकाले सुखको महत्व रहेको उल्लेख गर्दै उहाँले भन्नुभयो, ‘भक्तपुरका जनता तिव्र विकासको चाहना तथा आधुनिक सोचका साथ अघि बढेको बढेका छन् । कुनै पनि विकासका कार्यहरुमा मुद्धामामिला आएमा आफै बसेर मिलाउन सक्ने क्षमताभएका स्थानीयवासी तथा जनप्रतिनिधिहरु रहेका छन् । छलफल तथा वार्ताको माध्यमबाट जस्तोसुकै समस्याको समाधान गर्न सकिन्छ ।’
भक्तपुरको विकास चारैतिरबाट शुरु भइसकेको उल्लेख गर्दै उहाँले भक्तपुरमा सडक, ढल, खानेपानी, भौतिक संरचना, शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रहरुको जनताको चाहना अनुसार तिव्र गतिका साथ निर्माण कार्य भइरहेको जानकारी गराउनुभयो । उहाँले विकासमा राजनीतिकरण गर्नु नहुने बताउँदै राजनीतिमा प्रतिस्पर्धा र विकासमा ऐक्यवद्धता अहिलेको लोकतान्त्रीक प्रणालीमा अपरिहार्यता रहेकोमा जोड दिनुभयो ।