- सागर थापा काठमाडौं
भाद्र २४, काठमाडौं । प्रहरी प्रधान कार्यालयले तीन एसपीको काज सरुवा गरेको छ । प्रहरी महानिरीक्षक (आइजी) सर्वेन्द्र खनालले बिभागिय आवश्यकता अनुसार आइतबार र सोमबार तीन एसपीको काज सरुवा गरेका हुन् ।
अघिल्लो सरुवामा दाङको प्रहरी प्रमुखबाट जनकपुर गणमा दरबन्दी कायम गरिएका एसपी बेलबहादुर पाण्डेको केन्द्रिय अनुसन्धान ब्यूरो (सिआइबी) मा काज सरुवा भएको छ । कानुनका बिज्ञको रुपमा परिचित पाण्डेको सरुवासंगै सिआइबीमा एसपीको संख्या तीन पुगेको छ। अहिले एसपीद्वय दिपक रेग्मी र आभुषण तिम्सिना पनि सिआइबीमा कार्यरत छन् ।
त्यस्तै महानगरीय ट्राफिक प्रहरी महाशाखामा पनि एसपीको संख्या थप गरिएको छ । पाँच नम्बर प्रदेश प्रहरी कार्यालय तुल्सिपुर दाङ दरबन्दी भइ प्रहरी प्रधान कार्यालयमा कार्यरत एसपी जिवनकुमार श्रेष्ठलाई ट्राफिक महाशाखा पठाइएको छ । महाशाखामा बढ्दै गरेको कार्यबोझलाई मध्यनजर गर्दै एसपीको संख्या बढाइएको आइजी सचिवालय स्रोतले जानकारी दिएको छ । महाशाखामा अहिले एसपी रविकुमार पौडेल कार्यरत छन् ।
त्यस्तै अघिल्लो सरुवामा गुल्मीको प्रहरी प्रमुखबाट सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायल सरुवा गरिएका एसपी दिपककुमार बस्नेतको प्रहरी प्रधान कार्यालय अन्तर्गत कार्य तथा अपराध अनुसन्धान बिभागमा काज सरुवा भएको छ ।