• २०८० असोज १७ गते बुधवार

दानमा दिएको काठ हिनामिना गर्ने प्र.अ र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अख्तियारको फन्दामा

पढ्न लाग्ने समय : २ मिनेट

बैशाख २७, दाङ । दाङ जिल्लास्थित राजपुर र सतवरिया लगायत विभिन्न सामुदायिक वन उपभोक्ता समितिबाट साधारण उच्च माध्यमिक विद्यालय, गंगदी, दाङलाई उच्च माध्यमिक विद्यालय सञ्चालन गर्ने प्रयोजनको लागि सहयोग स्वरूप प्राप्त काठहरू विद्यालयका प्रधानाध्यापक पूर्णबहादुर चौधरी र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भोगेन्द्रसिंह राजपुतले विक्री वितरण आर्थिक अनियमितता गरेका छन ।

साथै विद्यालय परिसरमा भएको सिसौ र आँपका काठहरू बिक्री वितरण गरेको रकम, विद्यार्थीका लागि प्राप्त छात्रवृत्ति र दिवा खाजाको रकम हिनामिना गरी भ्रष्टाचार गरेको समेत खुल्न आएको छ । तत्कालीन साधारण उच्च माध्यमिक विद्यालय, गंगदी, दाङलाई उच्च माध्यमिक विद्यालय सञ्चालन गर्ने प्रयोजनको लागि विभिन्न सामुदायिक वन उपभोक्ता समुहहरुबाट सहयोग स्वरूप प्राप्त भएको काठमध्ये १७९२.०१५ क्यू.फि. सालको काठ, ७१९ क्यू.फि. असना र विद्यालय परिसरमा रहेका आँप र सिसमका रूखहरू बिक्री गरी जम्मा रू एघार लाख पैतालिस हजार चार सय अन्ठानब्बे बराबरको काठबाट आएको रकम हिनामिना गरेका हुन ।

साधारण उच्च माध्यमिक विद्यालय, गंगदी, दाङका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भोगेन्द्रसिंह राजपुत र प्रधानाध्यापक पूर्ण बहादुर चौधरीले हिनामिना, हानीनोक्सानी गरी भ्रष्टाचारजन्य कार्य गरेको स-प्रमाण पुष्टि हुन आएको हुनाले भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) (च) बमोजिम सजाय हुन र भ्रष्टाचार गरी हिनामिना, हानिनोक्सानी गरेको बिगो रू एघार लाख पैतालिस हजार चार सय अन्ठानब्बे प्रतिवादीहरूबाट असुलउपर हुन मागदाबी लिइ आज विशेष अदालत काठमाडौंमा आरोप पत्र दायर गरिएको अख्तियारका सहायक प्रवक्ता मदन कोइरालाले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस