कोलकाता। पश्चिम बंगालमा तृणमूल कांग्रेसका विधायक सत्यजीत विश्वासको हत्या भएको छ । गएराती सरस्वती पूजा गरेर मञ्चबाट ओर्लने क्रममा उनको गोली हानी हत्या भएको हो । विधायक विश्वासको हत्याको अभियोगमा २ जनालाई पक्राउ गरिएको छ । साथमा हंसखली थानाका इन्चार्जलाई निलम्बन गरिएको छ ।
विश्वासलाई शनिबार राती गोली हानिएको थियो । उनलाई तत्काल नजिकको अस्पताल लगिएकोमा अस्पतालमा डाक्टरले उनलाई मृत घोषित गरेका थिए ।
घटनाको समयमा उनी फुलबारी इलाकामा सरस्वती पूजाको कार्यक्रममा सहभागी भएका थिए । पुलिसका अनुसार आक्रमणकारीले उनलाई अत्यन्तै नजिक (प्वाइन्ट ब्ल्यांक रेन्ज) बाट गोली हानेका थिए । त्यस क्षेत्रमा ठूलो मात्रामा पुलिस तैनाथ गरिएको छ । सत्यजित नादिया जिल्लाको कृष्णागंज क्षेत्रबाट निर्वाचित सांसद थिए । केही दिन पहिले मात्र उनको विवाह भएको थियो ।
तृणमूल नेता शंकर दत्ताले यो हत्या भारतीय जनता पार्टीको षड्यन्त्र भएको आरोप लगाएका छन् । भाजपा पश्चिम बंगालका अध्यक्ष दिलिप घोषले भने आरोपलाई निराधान भनेका छन् । उनले विधायकको हत्या दुर्भाग्यपूर्ण भन्दै यसको सीबीआइ जाँच हुनुपर्ने बताएका छन् ।