मंसिर, २३ काठमाडौँ । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी निकट अनेरास्ववियुले बाँकेको कोहलपुरमा आइतबार कलिला बालबालिकामाथि प्रहरीबाट निर्मम र अमानवीय कार्य भएको भन्दै घटनामा संलग्न दोषीलाई कानूनी कारबाही गर्न माग गरेको छ ।
आज अनेरास्ववियुका सहसंयोजक रञ्जीत तामाङले एक विज्ञप्ति जारी गरी त्रिभुवन माविको कक्षा ७ मा अध्ययनरत छात्रा प्रकृति चन्द विद्यालय हातामा प्रवेश गर्नै लाग्दा ट्रकले ठक्कर दिएर गम्भीर घाइते भएपछि विद्यार्थी आक्रोशित भएर विरोधमा उत्रनु स्वाभाविक भएको बताएका छन् ।
अनेरास्ववियुले दोषीलाई कारबाही र घाइतेको स्वास्थ्योपचारको माग समेत गरेको छ । बढ्दो सवारी दुर्घटना र चालकहरुको लापरबाहीलाई नियन्त्रण गर्दै आम रुपमा नागरिक सुरक्षाको प्रत्याभूति दिलाउन कानूनी प्रबन्धलाई थप सुदृढ गर्दै त्यसलाई कडाइ पूर्वक कार्यान्वयन गर्न सरकार लगायतका अन्य सम्वद्ध पक्षसँग अनेरास्ववियुले माग समेत गरेको छ ।