मंसिर, २३ सिराहा । सिराहामा एम्बुलेन्स र मोटरसाइकल एकआपसमा जुध्दा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
आइतबार राति गोलबजार नगरपालिका-६ गोलचोकमा स १ च ६९३ नम्बरको एम्बुलेन्स र स ६ प ८०६२ नम्बरको मोटरसाइकल एकआपसमा जुध्दा मोटरसाइकलमा सवार सिराहा नगरपालिका-१२ साक्षरका ३१ वर्षीय विष्णु महरा र १८ वर्षीय राकेश मण्डलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ ।
घाइते भएका उनीहरुको उपचारको लागि अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको हो । यस्तै सोही ठाउँका २५ वर्षीय जय नारायण मण्डल भने घाइते भएका छन् । उनको लहानमा उपचार भइरहेको छ । दुर्घटना पश्चात फरार रहेका एम्बुलेन्स चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।