मंसिर २३ , काठमाडौँ । आइतबार बाँकेको कोहलपुरमा प्रहरीले विद्यार्थीहरुमाथि दमन गरेको भन्दै नेविसंघले काठमाडौँको चाबहिलमा विरोध प्रदर्शन गरेको हो । नेविसंघ काठमाडौँ जिल्ला समितिको आयोजना र पशुपति क्याम्पस इकाइ समितिको संयोजनमा गरिएको प्रदर्शनमा सहभागीहरुले प्रहरी दमनको विरोध गर्दै नाराबाजी गरे ।
उनीहरुले गृहमन्त्रीको समेत राजीनामा मागेका छन् ।पशुपति क्याम्पसबाट सुरु भएको विरोध र्याली चाबहिल चोक परिक्रमा गरी पुनः पशुपति क्याम्पसमा आएर समापन भएको थियो ।
आइतबार बिहान एक ट्रकले ठक्कर दिएर कक्षा सातमा अध्ययनरत कोहलपुर-१० की प्रकृति चन्द गम्भीर घाइते भएपछि नेपालगंज- कोहलपुर सडकखण्डमा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको थियो ।
स्थिति नियन्त्रणमा लिन प्रहरीले रबरका गोली, लाठी र अश्रुग्यास प्रहार गर्दा विद्यार्थीहरुसहित एक दर्जनभन्दा बढी घाइते भएका छन् । प्रदर्शनकारीको आक्रमणबाट इलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपी हेमराज शाहीसहित ९ प्रहरी पनि घाइते भएका छन् ।