• २०८० मङ्सिर १३ गते बुधवार

प्रहरी अधिकृतहरु अनुसन्धानमूलक बिषयमा अध्ययनशील हुनुपर्छ : प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल

पढ्न लाग्ने समय : २ मिनेट

साउन २४, काठमाडौं । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरी कार्यलाई थप क्रियाशील तथा अपराध अनुसन्धानलाई सहज बनाउन प्रहरी अधिकृतहरु अनुसन्धानमूलक बिषयमा अध्ययनशील हुनुपर्ने बताउनुभएको छ ।

नेपाल पुलिस क्लब भृकुटीमण्डपमा शुक्रबार आयोजित कार्यक्रमबीच प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान बिद्यालयका प्रहरी वरिष्ठ उपरीक्षक प्रदिप कुमार श्रेष्ठद्वारा लिखित ‘The Law of Evidence’ नामक पुस्तकको विमोचन गर्दै प्रहरी महानिरीक्षक खनालले उक्त कुरा बताउनुभएको हो । सो अवसरमा प्रहरी महानिरीक्षक खनालले नेपाल प्रहरीका अधिकृतहरु अध्ययन तथा लेखनमा पनि आकर्षित भइरहेको बताउँदै संगठनको प्रतिनिधित्व गरी गहन अध्ययन, आँट तथा साहसकासाथ समय सान्दर्भिक पुस्तक प्रकाशन गर्न सफल भएकोमा लेखकलाई बधाई तथा शुभकामना समेत दिनुभयो ।

प्रहरी वरिष्ठ उपरीक्षक श्रेष्ठले संगठनबाट आर्जेको अनुभव, अपराध अनुसन्धानमा पुर्‍याएको योगदान तथा मेहनतको प्रशंसा गर्दै प्रहरी महानिरीक्षक खनालले प्रकाशित पुस्तकलाई थप परिस्कृत गर्दै लैजानुपर्नेमा जोड दिनुभयो । पुस्तकलाई थप परिस्कृत गर्न संगठनकोतर्फबाट आवश्यक साथ र सहयोग सदैव रहने उहाँले उल्लेख गर्नुभयो ।

कार्यक्रममा नेपाल बार एसोशिएसनका अध्यक्ष चन्द्रेश्वर श्रेष्ठले प्रमाणमुखी एवम् वस्तुगत प्रमाण संकलन गरी पीडितलाई न्याय सम्पादन गर्ने कार्यमा कानून कार्यान्वयन गर्ने निकायहरु एक्यबद्ध हुनुपर्ने उल्लेख गर्दै आगामी दिनमा सशक्त अनुसन्धानको लागि समेत उक्त पुस्तक सहयोगी हुने विश्वास व्यक्त गर्नुभयो ।

सो अवसरमा नेपाल ल क्याम्पसका प्रमुख डा. डिएन पराजुली, चक्रवर्ती हवी एजुकेशन एकेडेमी कलेज अफ ल का प्रा.डा. लक्ष्मण उपाध्याय, नेशनल ल क्याम्पसका कार्यकारी निर्देशक तथा संस्थापक प्रिन्सिपल डा. राम प्रसाद तिमिल्सिना, काठमाडौं स्कुल अफ ल का प्रोफेसर प्रकाश केसी र पुस्तकका लेखक प्रहरी वरिष्ठ उपरीक्षक प्रदिप कुमार श्रेष्ठ लगायतले पुस्तकबारे आ-आफ्नो विचार व्यक्त गर्नुभएको थियो । पुस्तक पैरवी बुक हाउस प्रा.लि.ले प्रकाशन गरेको हो ।

पैरवी प्रकाशनका अध्यक्ष चन्द्र प्रसाद सिवाकोटीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा सरकारी वकिलको कार्यालयका सहन्यायाधिवक्ता रेवतीराज त्रिपाठी र काठमाडौं स्कुल अफ ल का अधिवक्ता सुरज बस्नेतले पुस्तकमाथि टिप्पणी गर्नुभएको थियो ।

कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक ठूले राई, प्रहरी नायव महानिरीक्षकहरु, अधिवक्ताहरु, प्रहरी वरिष्ठ अधिकृतहरु, पैरवी प्रकाशनका पदाधिकारीहरु, कानुन क्षेत्रमा अध्ययनरत विद्यार्थीहरु लगायत अन्य प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस