• २०८२ बैशाख १६ गते मङ्गलवार

सुन तोलाकै ७० हजार

पढ्न लाग्ने समय : ५ मिनेट

साउन २४, काठमाडौँ । सुन प्रतितोला ७० हजार रुपियाँ पुगेको छ । नेपालको इतिहासमा पहेँलो धातुको मूल्य यति उच्च बिन्दुमा पुगेको यो पहिलो पटक हो । बुधबार एकै दिनमा एक हजार पाँच सय रुपियाँले महँगिएको सुन बिहीबार नेपाली बजारमा पाँच सयले बढेर ७० हजार पुगेको हो । सुनसँगै डलरको भाउ उकालो लाग्दा नेपाली अर्थतन्त्रमा अनेक प्रभाव पार्न सक्ने छ । साउनमा मात्र प्रति अमेरिकी डलर चार रुपियाँले बढेको छ ।

gold_1
मङ्गलबार प्रतितोला ६८ हजार रुपियाँमा कारोबार भएको सुन बुधबार एक हजार पाँच सय रुपियाँले बढेर ६९ हजार पाँच सय रुपियाँको ऐतिहासिक रेकर्ड कायम गरेको हो । साउन महिना लागेसँगै उच्च दरले सुन महँगिँदै गएपछि सुनको कारोबार भने घटेको छ ।

साउन १ गते ६४ हजार पाँच सय रुपियाँमा सीमित रहेको सुनको मूल्य साउन २३ गते ७० हजार पुगेको हो । सामान्य अवस्थामा दैनिक ३५ किलो सुन खपत हुने गरेकामा अहिले प्रतिदिन १० किलोभन्दा कम रहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । सुन पसलहरूमा अहिले सुन किन्नेभन्दा आफूसँग बेच्न चाहने मात्र आउने गरेका छन् । सर्वसाधारणले महँगो मूल्य पाउने देखेर आफूसँग भएको सुन बेच्न चाहेको देखिन्छ । सुनचाँदी व्यवसायीहरूले आर्थिक क्षमताले भ्याएसम्म खरिद गरेका छन् तर यो अवस्था पनि निरन्तर गर्न समस्या परेको व्यवसायी बताउँछन् । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका पूर्वअध्यक्षसमेत रहेका व्यवसायी तेजरत्न शाक्य महँगो भएपछि सुन खरिद गर्न पनि समस्या परेको बताउनुहुन्छ । “बिक्री छैन, महँगो दरमा खरिद मात्रै गर्नुपर्दा व्यवसायीसँग नगद नै नहुने अवस्था आएको छ”, उहाँले थप्नुभयो, “अवस्था अझै यस्तै भए व्यवसाय नै बन्द गर्नुपर्ने खतरा छ । ”

किन्दा महँगो, बेच्दा सस्तो
सुनको बिक्री यति धेरै भए पनि ग्राहकले बिक्री गर्दा भने बढी रकम पाउन सकेका छैनन् । सुन बिक्री गर्न आउने ग्राहक मूल्य बढे पनि जर्ती तथा अन्य कटौतीले कम मूल्य मात्र पाउने गरेका छन् । कतिपय व्यवसायीले प्रतितोला पाँच हजार रुपियाँसम्म कम दिने गरेको गुनासो उपभोक्ताको छ ।
सन् २०१९ लागेसँगै सुनको मूल्य विस्तारै बढ्दै गएको हो । खासगरी चीन र अमेरिकाबीचको व्यापारिक तनावले अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य पछिल्ला महिनामा अस्वाभाविक रूपमा बढ्दै गएको हो । त्यसमा हालै भारतले कश्मीर मामिलामा गरेको निर्णयका कारण सुन बजारलाई पनि प्रभाव पारेको शाक्यको ठहर छ । विशेष गरी भारतमा सुन सञ्चय गर्ने प्रवृत्ति बढ्न थालेको छ ।
विश्व बजार पूर्वानुमान तथा समीक्षा गर्ने अमेरिकाको वाल स्ट्रिटस्थित कोमेक्स हाउसले आगामी डिसेम्बरसम्ममा सुन प्रतिऔँस एक हजार चार सय डलर पुग्ने अनुमान गरेको थियो । तर त्यो अनुमान अहिले नै गलत सावित भइसकेको छ । बुधबार प्रतिऔँस एक हजार ४८६.७ डलर पुगेको छ । मूल्यवृद्धिको प्रवृत्ति हेर्दा यो दर यसै साता एक हजार पाँच सय डलर पुग्ने अन्तर्राष्ट्रिय अनुमान छ ।

किन बढ्यो सुनको मूल्य
यो वर्ष अन्तर्राष्ट्रिय व्यापारलाई चीन र अमेरिकाबीचको व्यापारिक सकसले नराम्रोसँग प्रभावित पारिरहेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ सामान आयातमा उच्च दरको कर लगाउने घोषणासँगै नीति कार्यान्वयनमा आएको छ । पछिल्लो समय ट्रम्प प्रशासनले चीनबाट आयात हुने तीन सय अर्ब डलरका सामानमा आगामी सेप्टेम्बरदेखि १० प्रतिशत कर थप गर्ने घोषणा गरेको छ । यसले व्यापारीहरू सुन सञ्चयको विकल्पतिर लागेका छन् ।
गत जुलाईमा सम्पन्न जी २० को सम्मेलनमा व्यापारिक समस्याका विषयमा दुवै देशका राष्ट्रपतिबीच वार्ता हुने अनुमान थियो । तर ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीचको छलफलले समस्या समाधान ननिकाले पनि यसका लागि वार्ता गर्न सहमति मात्र जुटायो । अन्तर्राष्ट्रिय व्यापारिक स्थिरता ल्याउने अपेक्षा यो सहमतिले जगाएको थियो । तर गत साता चीनमा सम्पन्न अमेरिकी र चिनियाँ अधिकारीबीचको तीनदिने बैठकले कुनै निष्कर्ष निकाल्न सकेन । त्यसलगत्तै ट्रम प्रशासनले थप कर लगाउने घोषणा गरेको थियो ।
विगतमा पनि हुने गरेका यस्ता घोषणाले अन्तर्राष्ट्रिय लगानीकर्ताहरूले व्यवसाय तथा उत्पादनमा हतोत्साही भएर लगानी सुनतर्पm लगाएका छन् । अन्तर्राष्ट्रिय सेयर बजार ओरालो लाग्दा पनि लगानीकर्ता सुनतर्पm आकर्षित भएका छन् ।
व्यापारिक तनावका कारण अमेरिकी डलर कमजोर बन्न सक्ने अनुमानमा युरोपेली बैङ्कहरूले डलरभन्दा सुन मौज्दात गर्न थालेका छन् । अमेरिकाको केन्द्रीय बैङ्कले ३१ जुलाईमा बचतको ब्याजदर शून्य दशमलव २५ प्रतिशत घटाइदिएकाले पनि बचतकर्ता सुन खरिदतिर लागेका छन् । न्यून ब्याजदर भविष्यमा आउने प्रतिफलका लागि प्रतिकूल हुने हुँदा बचतकर्ताका लागि सुुन सञ्चय राम्रो विकल्प हुन सक्छ ।
नेपालमा सुनको मूल्य उच्च हुनुमा अर्को कारण भारतको कश्मीर विवाद पनि रहेको शाक्य स्पष्ट पार्नुहुन्छ । कश्मीर विवादका कारण भारतीय मुद्रा डलरको तुलनामा कमजोर हुँदै छ र आगामी दिनमा अझ कमजोर हुने आकलन छ । नेपाल र भारतीय मुद्रामा स्थिर विनिमय दर भएकाले कमजोर भारतीय मुद्राको असर नेपाली बजारमा पनि परेको हो । साउन १ गते प्रतिअमेरिकी डलर १०९÷६४ रहेकोमा साउन २३ गते ११३÷७२ पैसा पुगेको छ ।

व्यवसायीमा अन्योल
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अध्यक्ष मोहनकुमार विश्वकर्मा अहिले व्यवसायी पर्ख र हेरको अवस्थामा रहेको बताउनुहुन्छ । “अन्तर्राष्ट्रिय बजारले हाम्रो बजार निर्धारित हुने हो, हाम्रो वशमा छैन”, उहाँले भन्नुभयो, “अवस्था के हुन्छ, केही दिन हेर्दै जाऊँ । ” ग्राहकको बेच्ने चापले व्यवसायीसँग तरलताको अभाव हुन थालेको व्यवसायीको तर्क छ ।
विगतमा बैङ्कहरूबाटै सुन किन्ने गरेकामा अब आफूहरूसँग रहेको सुन बैङ्कले किनिदिए सहज हुने शाक्य बताउनुहुन्छ । “यसो हुन सके ग्राहकले बेच्न चाहेको सुन हामीले किन्न सक्ने र व्यवसायलाई निरन्तरता दिन सहज हुने छ”, उहाँले भन्नुभयो ।

यो समाचार आजको राजधानी पत्रिकाको पहिलो पृष्ठमा प्रकाशित छ । यो समाचार गोपालचन्द्र सुवेदीले तयार पार्नु भएको हो ।

प्रतिक्रिया दिनुहोस