• २०८१ पुष २९ गते सोमवार

सिंचाइ आयोजनाको लागि कार्यरत सव-इन्जिनियर उपर आरोप-पत्र दायर

पढ्न लाग्ने समय : १ मिनेट

असार २४, काठमाडौं  माडी-लुङ्ग्री-करिडोर सिंचाइ आयोजना, रोल्पामा कार्यरत सव-इन्जिनियर तारा श्रेष्ठ र डि.ई. उग्रनाघ झा उपर आरोप-पत्र दायर गरिएको छ ।

माडी-लुङ्ग्री-करिडोर सिंचाइ आयोजना, रोल्पामा कार्यरत सव-इन्जिनियर तारा श्रेष्ठले योजनाको अन्तिम बिल भुक्तानी गर्दा घुस माग गरेका थिए । विेशेष सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलबाट खटाइएको टोलीले निज तारा श्रेष्ठलाई सेवाग्राहीसँग रू.१,००,०००।– (एक लाख ) घुस बापतको रकम लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको हो ।

यस बारेमा थप अनुसन्धान हुँदा निज सव-इन्जिनियर तारा श्रेष्ठ र डि.ई. उग्रनाघ झाले एकआपसमा मिलेमतो गरी अनेक बहाना बनाई सिंचाई योजनाको भुक्तानी दिने कार्यमा ढिलाई गरी सेवाग्राहीसँग घुस / रिसवत माग गरी लिई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसूर गरेको देखिएकोले निजलाई जनही विगो रू.१,००,०००।– (एक लाख ) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय (ग) बमोजिम जरिवाना र कैद सजायको मागदाबी लिई आज विशेष अदालत काठमाडौंमा आरोप-पत्र दायर गरिएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस