चट्याङ लागेर बैतडीमा नेपाली सेनाका २२ जना घाइते भएका छन् । ७ बजेर ५० मिनेट जाँदा परेको चट्याङले शत्रुमर्दन गुल्मअन्तर्गत कठपतेमा तालीम गरिरहेका सेनाका जवान घाइते भएको शत्रुमर्दन गुल्मका गुल्मपति, सेनानी सुदीप बानियाँले जानकारी दिए ।उनले भने, “घाइतेमध्ये पाँचजनाको अवस्था गम्भीर छ ।
गम्भीर घाइते भएका अमरसिंह आलेमगर, बलराम थापामगर, दिनेशराज भट्ट, धनबहादुर ठनेत र सोनाम लामा तामाङलाई थप उपचारका लागि काठमाडौँ पठाउने तयारी भएको सेनानी बानियाँले जानकारी दिए ।
बानियाँका अनुसार तालीममा रहेका सेनाका जवान एक्कासी चट्याङ लागेर घाइते भएका छन् । सामान्य घाइते भएका १७ जनाको जिल्ला अस्पतालमै उपचार भइरहेको छ । गम्भीर घाइते पाँचजनालाई उपचारका लागि काठमाडौँ पठाउने तयारी गरिएको छ ।डडेल्धुरा, डडेल्धुराका फरकफरक स्थानमा चट्याङ लागेर दुईजनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।
एक्कसी चट्याङ लागेर भागेश्वर गाउँपालिका–५ सलेताकी २० वर्षीया सरस्वती नाथ र बझाङको दुर्गाथली गाउँपालिका–७ का ४८ वर्षीय गोगन दौल्यालको मृत्यु भएको प्रहरीले जनाएको छ । यस्तै अमरगढी नगरपालिका–३ रजोडामा रहेको राजपुर सामुदायिक वन उपभोक्ता समूहको भवनमा सुतिरहेका मजदुर बझाङका गोगन दौल्यालको चट्याङ लागेर घटनास्थलमै मृत्यु भएको हो ।
चट्याङ लागेर सरस्वतीका दुई बहिनी र दुई भाइ घाइते भएका छन् । घाइते हुनेमा १५ वर्षीय देवेन्द्र नाथ, ८ वर्षीय खगेन्द्र नाथ, १४ वर्षीया कल्पना नाथ र १२ वर्षीया शान्ति नाथ रहेका छन् । घाइते चारैजनालाई उपक्षेत्रीय अस्पताल डडेल्धुरा ल्याउने तयारी भइरहेको प्रहरीको भनाइ छ ।
काठमाडौँ,-मेलम्ची खानेपानी आयोजना निर्माणको जिम्मा लिएको ठेकेदार कम्पनी सिएमसीसँगको सम्झौता रद्द भए पनि खानेपानी मन्त्रालयले सोही कम्पनीलाई कामका फर्काउने विकल्पबारे छलफल जारी राखेको छ । आयोजनाको बाँकी काम सम्पन्न गर्न नयाँ बोलपत्र गर्दा खर्चिलो हुने र निर्माण अवधि बढी लाग्ने भएकाले मन्त्रालय र मेलम्ची खानेपानी विकास समितिले सिएमसी कम्पनीसँग नै छलफल थाली काममा फर्काउने प्रयास थालेको हो।
नयाँ निर्माण कम्पनीलाई दिँदा नयाँ टेण्डर गर्नुपर्ने तर सिएमसी कम्पनी नै काममा फर्कने अवस्थामा ठेक्का रद्दको निर्णय फिर्ता लिए हुने कानूनी प्रावधान रहेकाले मन्त्रालयले सिएमसीलाई नै पहिलो प्राथमिकतामा राखेको छ । यही फेब्रुअरी १० सम्म ठेक्का तोडिएको पत्र सिएमसीको मुख्यालयमा नपुगे रु २ अर्ब ६५ करोडको धरौटी रकम जफत गर्न नसकिने भएकाले समितिले ठेक्का तोड्ने निर्णय गरेको थियो ।
समितिका कार्यकारी निर्देशक सूर्यराज कँडेलले कानूनी रूपमा हामी अप्ठ्यारोमा नपरौँ भन्नका लागि मात्र ठेक्का तोड्ने निर्णयमा पुगेको बताउनुभयो । उहाँले ठेक्का तोडेपछि धरौटी रकम नेपाल सरकारको खातामा आउने बाटो खुलेको तर, सिएमसी कम्पनीलाई नै काममा फर्काउने विकल्पका साथ छलफल जारी रहेको उहाँले जानकारी दिनुभयो ।खानेपानीमन्त्री बीना मगरको निर्देशनमा मन्त्रालय र मेलम्ची विकास समितिका अधिकारीहरु सिएमसीको मुख्यालयका प्रतिनिधिसँग वार्ताका लागि हाल सिङ्गापुरमा छ । सिङ्गापुरमा दुवैतर्फका प्रतिनिधिबीच ठेक्का सम्झौता रद्द गर्ने निर्णय फिर्ता लिएर सिएमसी नै काममा फर्कने विकल्पका विषयमा गहन छलफल भइरहेको कँडेलले बताउनुभयो ।
सङ्घीय संसद्को विकास समिति, अर्थ समितिलगायतले पनि उपयुक्त विकल्प खोजेर आयोजनालाई छिटोभन्दा छिटो सम्पन्न गराउन यसअघि नै सरकारको ध्यानाकर्षण गराइसकेको छ ।