• २०८२ बैशाख ६ गते शनिवार

दाजुभाईको झगडाले आमाको ज्यान गयो

पढ्न लाग्ने समय : १ मिनेट

भाद्र २२, महोत्तरी । महोत्तरीको बर्दिवास नगरपालिका–३ मा दाजुभाईबीचको झगडाले आमाको ज्यान गएको छ । हिजो शनिबार साँझ आपसी झगडामा घाइते भएका छोरालाई उपचारका लागि अस्पताल ल्याउन लागेकी आमाको आफु चढेको एम्बुलेन्स दुर्घटना हुँदा ज्यान गएको हो ।

बर्दिवास–३ पाटुका दाजुभाई २१ वर्षीय गङ्गा वादी र १८ वर्षीय उमेश वादी आपसमै कुटपिट मच्चाउँदा घाइते भएपछि छोराहरु लिएर अस्पताल आउँदै गरेकी ५० वर्षीया आमा तारा वादीको बाटोमै आफु चढेको एम्बुलेन्स पल्टँदा मृत्यु भएको हो ।

बा २ च ४४४१ नं  को एम्बुलेन्स शनिबार साँझ ८ बजेतिर विपी राजमार्गको बर्दिवास–३ गौरीडाँडामा पल्टिदा पैदलयात्री छिमेकको धनुषा जिल्लाको मिथिला नगरपालिका–४ का २१ वर्षीय रोशन बराइली, मृतकका दुवै छोरा र एम्बुलेन्स चालक बर्दिवास–३ का चित्रबहादुर बुढाथोकी घाइते भएका छन् ।

घटनालगत्तै प्रहरीले उद्धार गरी बर्दिवास–१४ स्थित शुभस्वस्तिक अस्पताल पुर्याउनासाथै तारा वादीलाई चिकित्सकले मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय बर्दिवासले जनाएको छ ।

घाइतेमध्ये पैदलयात्री रसाइलीको दाँया खुट्टा भाँच्चिएको, चालक बुढाथोकीको अनुहारमा चोट लागेको र दुवै दाजुभाई वादीका हातगोडामा सामान्य चोट लागेको छ ।

घाइते सबैको शुभस्वस्तिक अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय बर्दिवासका प्रहरी निरीक्षक अशोककुमार साहले जानकारी दिए । चालकको प्रहरी निगरानीमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस