• २०८१ मङ्सिर २२ गते शनिवार

जनतालाई विषाक्त तरकारी खुवाउन पाइँदैन भन्दै नेविसंघको प्रदर्शन

पढ्न लाग्ने समय : २ मिनेट

असार २३, काठमाडौं । सरकारले भारतबाट विषाक्त तरकारी तथा फलफूल आयात गर्न दिने निर्णय गरेर जनस्वास्थ्यमाथि खेलबाड गर्न खोजेको भन्दै प्रमुख प्रतिपक्षी दल काँग्रेसको भातृसंगठन नेविसंघले सोमबार देशभरका क्याम्पस अगाडि प्रदर्शन गरेको छ ।

सोही क्रममा नेविसंघका निवर्तमान केन्द्रीय सदस्य सुशील भट्टको अगुवाइमा राजधानीको बालाजु–नेपालटारस्थित ग्रामिण र एनआर क्याम्पस अगाडि विरोध प्रदर्शन गरिएको छ ।

तरकारीसहित प्रदर्शनमा उत्रिएका नेविसंघका नेता–कार्यकर्ताले जनतालाई विष मिसिएको तरकारी खुवाउन पाइँदैन भन्दै सरकारविरुद्ध नाराबाजी गरेका थिए ।

विरोध प्रदर्शनका क्रममा बोल्दै भट्टले भारतसित घुँडा टेक्ने केपी ओली नेतृत्वको सरकार नसच्चिए कडा संघर्ष गर्ने चेतावनी दिए । उनले कुनैपनि हालतमा विषादीको परीक्षण गरेर मात्रै भारतीय तरकारी आयातको व्यवस्था मिलाइनु पर्नेमा जोड दिए ।

सो क्रमममा भट्टसहित विद्यार्थी नेताहरु पवन थापा, सन्तोष गुरुङ, ठाकुर नेपाल, लक्ष्मी सिलवाल, स्वेच्छा उप्रेती, जीवन रानालगायतले सम्वोधन गरेका थिए ।

आइतबार एक विज्ञप्ति जारी गर्दै नेविसंघ महामन्त्री कुन्दन राज काफ्लेले भारतीय तरकारी बिना जाँच आयात गर्ने सरकारी निर्णय विरुद्ध चरणवद्ध आन्दोलनको घोषणा गरेका थिए ।

जसअनुसार सोमबार देशभरका क्याम्पस अगाडि तरकारीसहित विरोध प्रदर्शन गर्ने तय भएको थियो । यस्तै २४ गते ७७ वटै जिल्ला प्रशासन कार्यालयबाट प्रधनमन्त्रीलाई विषाक्त तरकारी तथा फलफूल उपहार पठाउने, असार २५ गते विषाक्त तरकारीको असरबारे प्रचारप्रसार गर्ने, २६ गते मसाल जुलुस निकाल्ने र २७ गते माइतीघरमा प्रदर्शन गर्ने कार्यक्रम तय गरिएको छ ।

सरकारले असार १९ गते विहिबार मन्त्रिपरिषद् बैठकबाट भारतबाट नेपाल आयात हुने फलफूल तथा तरकारीमा प्रयोग भएको विषादी परीक्षण नगर्ने निर्णय गरेपछि यसको  विरोध हुदै आएको छ ।

यसअघि सरकारले असार २ गते निकासी पैठारी सम्बन्धी आदेश राजपत्रमा प्रकाशित गरेको थियो । सो आदेशमा नेपाल आयात गरिने तरकारी तथा फलफूलको सीमा नाकामा विषादी परीक्षण गर्नुपर्ने उल्लेख छ । सरकारले भने तत्कालका लागि प्रयोगशाला चुस्त नभएको र कर्मचारी अभाव भएको भन्दै ६ महिनाका लागि परीक्षण नगर्ने निर्णय गरिएको बताएको छ ।

प्रतिक्रिया दिनुहोस