चैत २५, काठमाडौं । काठमाडौंमा चल्ने सार्वजनिक सवारीका साधनमा यात्रु टिकटलाई अनिवार्य गरिएको छ । हाल केही बस सेवा प्रदायकले मात्र यात्रुलाई टिकट दिने गरेका छन् । तर, काठमाडौं महानगरपालिकाले ऐनमै सार्वजनिक यातायात सञ्चालनमा कागजी वा विद्युतीय टिकट अनिवार्य हुनुपर्ने व्यवस्था गरेको छ ।
कागजी टिकट प्रयोग गरिरहेकाहरुले पनि अब बिस्तारै विद्युतीय टिकले विस्थापित गर्दै लग्नुपर्नेछ । काठमाडौं महानगरपालिकाले बनाएको ‘सवारी तथा यातायात व्यवस्थापन विधेयक, २०७५’ मा सेवा प्रदायकले गाडी चढ्नु अघि वा चढेलगत्तै यात्रुसँग तोकिएको भाडा लिइ अनिवार्य टिकट दिनुपर्ने प्रावधान राखिएको हो ।
विद्युतीय टिकट रहेको खण्डमा ई–टिकेटिङ लगायतका प्रविधिबाट अग्रिम टिकट खरिद गर्न पाउने व्यवस्था सेवा प्रदायकले मिलाउनुपर्ने छ । काठमाडौंका हकमा हाल साझा र महानगर यातायातले मात्रै यात्रुले भाडा दिएपछि टिकट दिने गरेका छन् ।
तर, अब सबै बस,माईक्रो, टेप्पो, ट्याक्सीले टिकटको प्रवन्ध गर्नुपर्नेछ । यात्रु टिकटको आकार प्रकार तथा टिकटमा उल्लेख गर्नुपर्ने जस्ता विषय महानगरपालिकाले तोक्नेछ ।
यात्रु टिकटमाच धुम्रपान, मद्यपान, सूर्तिजन्य तथा सार्वजनिक हित बिपरितका वस्तुको विज्ञापन गर्न पाइने छैन । यात्रुले पनि अब काठमाडौं महानगरपालिकाभित्र गाडीमा यात्रा गर्न आफूले चढ्ने स्टपमा वा सवारी साधन चढेलगत्तै तोकिएको भाडा तिरेर टिकट लिनुपर्नेछ ।
सेवा प्रदायकले बालबालकिा, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, अशक्त, जनआन्दोलनका घाइते, शहिद परिवारका सदस्य, विद्यार्थी तथा अन्य निर्धारित व्यक्तिलाई तोकिएबमोजिम भाडामा छुट दिएर टिकट उपलब्ध गराउनुपर्नेछ । सहुलियत पाउने यात्रुले पनि सम्बन्धित निकायले जारी गरेको परिचय पत्र देखाउनुपर्ने व्यवस्था बिधेयकमा छ ।