• २०८१ माघ २६ गते शनिवार

रातो कार्ड पाएपछि मेस्सीको आरोप – यो कोपा ब्राजिलले जितोस् भनेर मिलेमतो छ

पढ्न लाग्ने समय : २ मिनेट

असार २२, काठमाडौं । स्टार खेलाडी लियोनेल मेस्सीले रातो कार्ड पाए पनि अर्जेन्टिनाले कोपा अमेरिका फुटबलमा चिलीलाई २–१ गोलले हराउँदै तेस्रो स्थान हासिल गर्न सफल रह्यो । तर, मेडल प्रदान गर्ने समारोहमा मेस्सी उपस्थित भएनन् ।

चिलीका गेरी मेडेलसँगको विवादपछि मेस्सीले रातो कार्ड पाएका थिए । विवादमा मेडेल आक्रमक देखिए पनि रेफ्री मारियो डियाज डे भिभारले दुवै खेलाडीलाई रातो कार्ड देखाए ।

रेफ्रीको निर्णपछि आश्चर्यचकित बन्दै मैदान छाडेका मेस्सी तेस्रो स्थानको मेडल लिने बेला पनि मैदानमा देखिएनन् ।

पछिल्लो समय आफ्नो खेलभन्दा पनि दक्षिण अमेरिकी फुटबल कन्फेडरेसन र आयोजक ब्राजिलको आलोचनाको कारण मेस्सी चर्चामा छन् ।

तेस्रो स्थानको खेलपछि पनि पत्रकारहरुसँग कुरा गर्दै मेस्सीले कन्फेडरेसनको आलोचना गर्दै यो प्रतियोगिता ब्राजिलले जितोस् भनेर मिलेमतो भएको गम्भीर आरोप लगाए ।

 

सेमिफाइलनमा आफूले रेफ्रीको आलोचना गरेकै कारण आफूले रातो कार्ड पाएको बताउँदै उनले भने, ‘यसमा कुनै शंका छैन, यो प्रतियोगिता ब्राजिलले जितोस् भनेर मिलेमतो छ ।’

‘मलाई आशा छ फाइनलमा भीएआरले कुनै भूमिका खेल्ने छैन । पेरुले प्रतिस्पर्धा गर्न सक्छ तर मेरो लागि उसलाई गाह्रो छ,’ उनले भने ।

मेडल प्रदान गर्ने समारोहमा आफ्नो उपस्थितिबारे पनि मेस्सीले खुलाए । उनले भने, ‘म यो भ्रष्टाचारको हिस्सा हुन चाहँदिन थिए । कोपा अमेरिकामा हामीले बेहोरेको अनादरको हिस्सा हुनुपर्दैन ।’

‘म जहिले पनि इमान्दार छु र सत्य बोल्छु । मैले बोलेको कुराले मैले भोग्नुपर्ने नियतिबारे मलाई परवाह छै ।’

‘आज जे भयो त्यो मैले यसअघि बोलेको (ब्राजिलबिरुद्ध) कुराले भयो । आज पहेँलो कार्ड दिएको भए हुन्थ्यो ।’

यसअघि भेनेजुएलाबिरुद्ध जित हासिल गरेपछि मेस्सीले कोपा अमेरिकामा प्रयोग भएको मैदानको आलोचना गरेका थिए ।

मंगलबार ब्राजिलबिरुद्ध २–० को हार बेहोरेपछि मेस्सी झन् आक्रोसित बनेका थिए । उनले रेफ्रीको निर्णयमाथि प्रश्न उठाएका थिए ।

‘उनीहरु हामीभन्दा राम्रो थिएनन् । उनीहरुले शुरुवातमै गोल गरे भने दोस्रो गोल हामीलाई पेनाल्टी नदिएपछि भयो,’ मेस्सीले पत्रकारहरुसँग भने, ‘उनीहरुले भीएआरसँग पनि जाँच गरेनन् । त्यो निकै अनौठो थियो ।’

‘यो खेल अवधि भर नै भयो । उनीहरुले ब्राजिलको पक्षमा निर्णय गर्दै गए र हामीलाई खेलबाट विचलित बनाए ।’

प्रतिक्रिया दिनुहोस