• २०८१ मङ्सिर २२ गते शनिवार

विप्लव नेकपाका नेता ‘आदर्श’ र ‘विश्व’लाई छोड्न सर्वोच्चको आदेश

पढ्न लाग्ने समय : २ मिनेट

जेठ २४, काठमाडौँ । नेत्र विक्रम चन्द ‘विप्लव’ले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य चुडामणि ओली ‘आदर्श’ र रोल्पाका स्थानीय नेता लालबहादुर ओली ‘विश्व’लाई छोड्न सर्वोच्च अदालतले आदेश दिएको छ ।

बन्दी प्रत्यक्षीकरणको रिटको सुनुवाइ गर्दै सर्वोच्चले प्रहरीले लगाएको आरोप पुष्ट नभएको भन्दै शुक्रबार रिहा गर्न आदेश दिएको हो । रिट निवेदनमाथि शुक्रबार भएको बहस माननीय न्यायाधिश इश्वर खतिवडा र तेज बहादुर केसीको संयुक्त इजलासले बन्दीद्वयलाई थुनामा राख्नुपर्ने कुनै आधार र कारण नभएको भन्दै रिहा गर्न आदेश दिएको हो ।

५२ वर्षीय चुडामणि र ४८ वर्षीय लालबहादुरलाई राज्यले प्रहरी हिरासतमा गैरन्यायिक तरिकाले थुनामा राखेको जनाउँदै तत्काल रिहाइको मागसहित लालबहादुर पुत्र विनोद वलीले बन्दी प्रत्यक्षीकरण रिट निवेदन दायर गरेका थिए ।

सर्वोच्च अदालतमा शुक्रबार भएके बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमाथि निवेदकका पक्षमा वरिष्ठ अधिवक्ता एकराज भण्डारी, अधिवक्ता कपिलचन्द्र पोख्रेल र अधिवक्ता कान्तिराम ढुंगानाले बहस गरेका थिए ।

साविकको ठेगाना जिनवाङ गाविस भई हाल गंगादेव गाउँपालिकाका स्थायी बासिन्दा आदर्श र विश्व दाजुभाई हुन् । दाजु नेकपाका केन्द्रीय सदस्य हुन् भने भाई लालबहादुर स्थानीय नेता हुन् ।

आदर्शसहित तीन नेतालाई गत बैशाख ६ गते पार्टी कामका खटिरहेका बेला तुलसीपुर उपमहानगरपालिका–३ स्थित राम्रीबाट गाडीबाट गिरफ्तार गरिएको थियो । तीनै जनाविरुद्ध संगठित अपराध, विष्फोट, हाततियार तथा खरखजना र राजद्रोहको अभियोग लगाइएको थियो ।

सोही अभियोगका अभियुक्त नेकपाका केन्द्रीय सदस्य चद्रबहादुर खड्का ‘असल’लाई भने राज्यले लगाएको अभियोग र कसुरसम्बन्धी माग दाबीमा आधार र प्रमाण नदेखिएको भन्दै सर्बोच्चले यहि जेठ ७ गते रिहा गरेको थियो । रिहा लगतै असललाई पुन: गिरफ्तार गरेर दाङ प्रहरीले मोरङ पठाएको थियो ।

प्रतिक्रिया दिनुहोस