• २०८१ चैत्र २ गते आइतवार

कर्णाली प्रदेश स्तरीय दुई दिवसीय सुरक्षा गोष्ठी सुरू

पढ्न लाग्ने समय : २ मिनेट

फागुन २३, सुर्खेत । नेपाल सरकार गृह मन्त्रालयको वार्षिक कार्यक्रम अनुरुप विविध विषयमा छलफल, अन्तरक्रिया तथा प्रस्तुतीकरण हुने कर्णाली प्रदेश स्तरीय दुई दिवसीय सुरक्षा गोष्ठी सुर्खेतको वीरेन्द्रनगरमा बिहिबारदेखि सुरू भएको छ ।

सुरक्षाविद् प्रा.डा. ईन्द्रजित राईको प्रमुख आतिथ्य तथा गृह मन्त्रालय शान्ति सुरक्षा महाशाखाका सहसचिव रामकृष्ण सुवेदीको अध्यक्षतामा उक्त गोष्ठी सुरू भई आजको सत्र सम्पन्न भएको छ ।

उक्त अवसरमा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले सुरक्षा रणनीतिका विषयमा सुक्ष्म रुपमा सूचना संकलन गरी प्रहरी सेवालाई अझै बढी प्रभावकारी बनाउनुपर्ने उल्लेख गर्दै सबै सुरक्षा निकायहरु सामूहिक भावना र एकजुटकासाथ समन्वय गरी काम गरेमा शान्ति सुरक्षा कायम गर्न सहज हुने बताउनुभयो । जबरजस्ती करणी तथा महिला हिंसाका मुद्धामा मिलापत्र हुन नसक्ने उल्लेख गर्दै उहाँले गृह मन्त्रालयको लागूऔषध निषेध र मदिरा नियन्त्रणको मुख्य नारालाई व्यवहारिक रुपमा अवलम्बन गरी नतिजा हासिल भएको चर्चा गर्नुभयो । 

विखण्डनकारी, हातहतियार ओसारपसार, मानव बेचबिखन, वैदेशिक रोजगार ठगी जस्ता अपराध नियन्त्रण तथा अभियुक्त पक्राउ गर्न सबै सुरक्षा निकायले समान धारणा बनाई अगाडि बढ्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

समुदाय-प्रहरी साझेदारी कार्यक्रमले प्रभावकारी नतिजा ल्याउने विश्वास व्यक्त गर्दै प्रहरी महानिरीक्षक खनालले कार्यक्रमलाई अझै प्रभावकारी बनाउन सुरक्षा निकाय, स्थानीय तहका प्रतिनिधिहरु र समुदायसँगै एकिकृत रुपमा अगाडि बढ्नुपर्ने बताउनुभयो । समाजमा शान्ति सुरक्षा कायम भएमा मात्र समग्र राष्ट्रको विकास र समृद्धि हुने विचार उहाँले व्यक्त गर्नुभयो ।

सो अवसरमा सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारीले आ-आफ्नो मन्तव्य व्यक्त गर्दै सबै सुरक्षा निकायले सामूहिक भावनाको विकास गरी शान्ति सुरक्षा कायम गर्ने कार्यमा समन्वयात्क रुपमा अगाडि बढ्नुपर्ने उल्लेख गर्नुभयो ।

गृह मन्त्रालय शान्ति सुरक्षा महाशाखाका सहसचिव रामकृष्ण सुबेदी र गृह मन्त्रालय विपद व्यवस्थापन महाशाखाका सहसचिव ईन्दु घिमिरेले सो अवसरमा आ-आफ्नो मन्तव्य व्यक्त गर्दै समायनुकूल प्रचलित कानुन बमोजिम काम गर्नुपर्ने बताउनुभयो । विपद व्यवस्थापन लगायतका काममा दुर्गम क्षेत्रका लागि आवश्यक संरचना बनाउनुपर्ने विचार उहाँहरुले व्यक्त गर्नुभयो ।  

गोष्ठीमा उक्त प्रदेशको विद्यमान शान्ति सुरक्षाको अवस्था, समस्या तथा चुनौती, समाधानका उपाय, विपद तथा द्वन्द्व व्यवस्थापन एवं आगामी कार्यक्रम लगायतका विविध विषयमा छलफल, अन्तरक्रिया र प्रस्तुतीकरण भएको थियो ।

शुक्रबार सम्पन्न हुने उक्त गोष्ठीमा कर्णाली प्रदेश स्तरीय सुरक्षा निकायका प्रमुखहरू, उक्त प्रदेश अन्तर्गतका १० जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु तथा सुरक्षा निकायका प्रमुखहरूको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस