मंसिर, २० नुवाकोट। नेपाल भ्रमण वर्षलाई लक्षित गर्दै नुवाकोटको दुप्चेश्वर गाउँपालिकाले ट्राउट माछा र समुन्द्रफिनी चामल क्षेत्र स्थापित गर्ने योजना बनाएको छ ।
सन् २०२० मा हुन लागेको नेपाल भ्रमण वर्षलाई लक्षित गर्दै पर्यटन प्रवद्र्धनका लागि पर्याप्त सम्भावना भएको गाउँपालिकाले ट्राउट माछा र स्थानीय जातको समुन्द्रफिनी चामल उत्पादन गरेर आकर्षण गर्ने नयाँ योजना ल्याएको हो ।
गाउँपालिका उपाध्यक्ष अञ्जु आचार्यका अनुसार वडा नं १ घ्याङ्फेदीस्थित तालुकसेरीबाट तादी खोलामा २० हजार ट्राउट माछाका भुरा छाडेर माछा ‘जोन’ बनाउने र शिखरवेंशीको फाँटमा चामलका लागि प्रख्यात रहेको समुन्द्रफिनी धानको यस वर्षदेखि नै शुरु गरिएको व्यावसायिक खेतीमा किसानलाई प्रोत्साहन गरेर पर्यटकलाई आकर्षण गर्ने कार्यक्रम चलाउन लागिएको हो ।
उनका अनुसार तादी खोलाको तालुकसेरीबाट आगामी पुस अन्तिममा २० हजार ट्राउट माछाका भुरा छाडेर हुर्किएपछि पर्यटकले आफैले माछा मार्न पाउने व्यवस्था मिलाउने र त्यसको साथमा समुन्द्रफिनी चामलको खाना खुवाउन नयाँ स्वादमा पर्यटक लोभ्याउन लागिएको छ ।