• २०८० चैत्र ३० गते शुक्रवार

काठमाडौँलाई ‘होर्डिङ बोर्डमुक्त’ बनाइँदै, डिजिटल बोर्ड अनिवार्य

पढ्न लाग्ने समय : २ मिनेट

मंसिर, २० काठमाडौँ । काठमाडौँ महानगरपालिकाले महानगर क्षेत्रमा रहेको विज्ञापनमूलक होर्डिङ बोर्ड हटाउन तयारी थालेको छ । महानगरले सहरी सौैन्दर्यता कायम राख्न होर्डिङ बोर्ड, भित्तेलेखन र पोस्टर टाँस्न निषेध गरी विज्ञापन सामग्री प्रचारका लागि डिजिटल होर्डिङ बोर्डलाई अनिवार्य गर्ने भएको हो ।

महानगरका प्रवक्ता ईश्वरमान डंगोल अदालतको आदेशको पालना र महानगरको नीतिअनुसार होर्डिङ बोर्ड हटाउन निर्देशन दिएको बताँउछन् । ‘हामीले सात दिनको समयावधि दिएका छौं । सरोकारवालाले समयवधिभित्र नहटाए हामी आफैं हटाउँनेछौं,’ उनले भने ।

महानगरले दिएको समयावधि दुई दिन मात्र बाँकी छ । महानगरले सरोकारवालाहरूले बोर्ड हटाउन बेवास्ता गरेमा महानगर आफैंले हटाउने र यसको क्षतिपूर्ति सम्बन्धित सरोकारवालाले नै बेहोर्नुपर्ने महानगरको भनाइ छ ।

यसैको तयारीस्वरूप गत असारदेखि महिनादेखि डिजिटल होर्डिङ बोर्ड प्रयोगकर्तालाई कर छुटको व्यवस्था गरेको थियो । लामो समयदेखि नियमविपरीतका होर्डिङ बोर्ड हटाउँदा सहरी सौन्दर्य कायम गर्नमा सहयोगी हुने विश्वास लिएको छ ।

सर्वोच्च अदालतले महानगरलाई चार वर्षअघि नै होर्डिङ बोर्ड हटाउने आदेश दिएको थियो । तर, लामो समयसम्म पनि बोर्ड नहटाउँदा स्थानीयले महानगरको आलोचना गर्दै आएका थिए । महानगरको ढिलाइबारे अदालतको अवहेलना गरेको भन्दै कारबाहीका लागि अदालतमा रिटसमेत दायर भएको छ ।

कानुनत: सार्वजनिक जग्गामा विज्ञापन सामग्री राख्न पाइँदैन । त्यस्तै, झ्याल ढोका छोपिने, छिमेकीलाई असर पार्न र सम्पदा स्थलमा विज्ञापन सामग्रीको प्रचाप्रसार गर्न पाइँदैन । यो खबर आजको राजधानी दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस