• २०८२ जेष्ठ २ गते बिहिवार

कतारमा हुने विश्वकपको एक रंगशाला कन्टेनरबाट बनाइने, प्रतियोगिता सकिएपछि कन्टेनर पुनः प्रयोग गर्न सकिने

पढ्न लाग्ने समय : २ मिनेट

भाद्र २०, काठमाडौं । फिफा विश्वकपको २२ औं संस्करण सन् २०२२ मा कतारमा हुँदैछ । उक्त प्रतियोगिता पहिलो पटक कुनै अरबी मुलुकमा हुन लागेको हो ।

सन् २००९ मा नै कतारलाई विश्वकप आयोजना गर्ने अवसर प्राप्त भएको थियो । त्यसपछि फुटबलको सबैभन्दा ठूलो यस प्रतियोगितालाई मध्यनजर गरेर कतारका तीन शहरमा आठ रंगशालाको योजना बनाइएको थियो ।

कतारको राजधानी दोहामा बनिरहेको रस अबु अबुद रंगशाला पनि खेल हुने रंगशालामध्य एउटा हो । यो रंगशाला अन्यभन्दा विशेष छ ।

यसलाई हजार वटा मालबाहक कन्टेनरको प्रयोग गरेर निर्माण गरिँदैछ । निर्माण कार्यको लागि भनेर पहिलो चरणमा ९० वटा कन्टेनर चीनबाट दोहा पुगिसकेको छ ।

यस रंगशालको अर्को विशेषता भनेको विश्वकप प्रतियोगिता सकिएपछि यसलाई तोडिनेछ । यो पुनः प्रयोग हुने फिफाको पहिलो रंगशाला हुनेछ । तोडेपछि ती कन्टेनर पुनः अर्को देशमा रंगशाला बनाउनको लागि पठाइने योजना छ ।

अबुद रंगशालाको दर्शक क्षमता ४० हजार हुनेछ । यो रंगशालाको निर्माण सन् २०२० सम्म निर्माण भई सक्ने हिसाबले अघि बढिरहेको छ । कन्टेनरलाई स्थिर राख्नको लागि त्यसभित्र भारी सामान भरेर राखिनेछ ।

कतार विश्वकपमा संलग्न एक जना स्थानीय पदाधिकारीका अनुसार, ‘यो रंगशाला भत्काएर बाँकी रहने सामाग्रीहरुले तिनको पुनरप्रयोग गर्न चाहने देशको लागि राम्रो अबसर प्रदान गर्नेछ ।’

रंगशालामा लगाइने सम्पूर्ण हिस्सा पुनः कुनै अर्को रंगशाला बनाउन प्रयोग गर्न सकिन्छ । कन्टेनरलाई स्थिर राख्नको लागि बन्दरगाहमा उतारेपछि त्यसमा भारी सामान भरेर राखिनेछ । त्यसपछि त्यो रंगशालालाई बनाउनमा प्रयोग गरिनेछ ।

कन्टेनरबाटै रंगशालाको बाथरुम, अफिस र गेस्ट रुम समेत बनाइनेछ । कुनै पनि संरचना निर्माणको लागि सबैभन्दा महत्वपूर्ण कुरा त्यसको स्थायित्व हो । यो रंगशालामा पनि त्यसलाई पूर्णत ध्यान दिइनेछ ।

कतारले विश्वकपको लागि एउटा रंगशाला यही वर्ष पुरा गरेको छ । अल बकरा शहरमा अल जानुब रंगशालालाई विश्वकपको लागि तयार घोषित गरिएको छ । यसको दर्शक क्षमता ४० हजार छ ।

सबैभन्दा ठूलो रंगशालाको दर्शक क्षमता ८० हजार
प्रतियोगितामा प्रयोग हुनेमध्य लुसैल शहरमा बन्ने आइकोनिक रंगशाला दर्शक क्षमताको हिसाबले सबैभन्दा ठूलो हुनेछ । यहाँ एकै पटक ८० हजार दर्शकले फुटबल खेल हेर्न सक्छन् ।

प्रतियोगिताको उद्घाटन समारोह ग्रुप खेल, राउण्ड–१६ का खेल, क्वाटरफाइनल र सेमीफाइनलका कुनै एक म्याच र फाइनल खेल यहीँ रंगशालामा हुनेछ ।

कतार विश्वकपका रंगशाला

प्रतिक्रिया दिनुहोस