२१ साउन, काठमाडौं । रोजगारीका क्रममा साउदी अरेबिया पुगेका नेपाली महिला कामदारमाथि चरम शोषण भएको पाइएपछि रियादस्थित नेपाली दूतावासले ‘सप्लाई’ र ‘कन्ट्र्याक्टिङ’ कम्पनीसँग सम्बन्धित मागपत्र प्रमाणीकरण गर्ने काम स्थगित गरेको छ ।
नेपाली महिला कामदारले न्यूनतम आधारभूत सुविधासमेत नपाएको पुष्टि भएपछि दूतावासले सोमबारदेखि ती कम्पनीमा महिला कामदार ल्याउनेसम्बन्धी मागपत्र प्रमाणीकरणमा रोक लगाएको हो । वैदेशिक रोजगारीका लागि साउदी पुगेका कैयौँ नेपाली महिलाले पारिश्रमिक नपाएको, आवास सुविधा मानवीय नभएकोलगायत गुनासो आएसँगै दूतावासले नेपाली महिला कामदारको अवस्थाका बारेमा सर्वेक्षण गरेको थियो ।
नेपाली महिला कामदारले आवासमै रहेको पसलमा महँङ्गोमा सामान खरीद गर्न बाध्य बनाएको, दुई तहभन्दा बढी कम्पनीमा आपूर्ति गर्ने गरी भर्ना गरेकोलगाययत गुनासो गरेका थिए । सर्वेक्षणका क्रममा भेटिएका प्रायः सबै महिला कामदार सप्लाई र कन्ट्राक्टिङ कम्पनीमा आएको पाइएपछि दूतावासले सो कदम चालेको हो । सर्वेक्षणपछि पनि अन्य स्थानबाट महिला कामदारले आफू शोषणमा परेको गुनासो गर्ने क्रम नरोकिएको दूतावासले जनाएको छ ।