• २०८१ मङ्सिर २२ गते शनिवार

विद्यमान सुरक्षा अवस्था, समस्या तथा चुनौती र आगामी कार्यक्रम विषयमा सुरक्षा गोष्ठी, सुदूर पश्चिम प्रदेशमा सुरु

पढ्न लाग्ने समय : २ मिनेट

फागुन २२, कैलाली । नेपाल सरकार गृह मन्त्रालयको वार्षिक कार्यक्रम अनुरुप विद्यमान सुरक्षा अवस्था, समस्या तथा चुनौती र आगामी कार्यक्रम लगायतका विषयमा छलफल हुने सुरक्षा गोष्ठी, सुदूर पश्चिम प्रदेश मंगलबार कैलालीको धनगढीमा सुरु भएको छ ।

उक्त गोष्ठीमा प्रस्तुतीकरणको क्रममा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले राष्ट्र बनाउने जस्तो जिम्मेवारी पाउनु गौरवको कुरा भएको उल्लेख गर्दै यसका लागि सबै पक्षसँग समन्वय राखेर नेपाल प्रहरी अगाडि बढ्ने बताउनुभयो । सबै सुरक्षा निकायवीच सूचना आदान प्रदान गरी आ(आफ्नो कार्य प्रकृति अनुरुप काम गरेर शान्ति सुरक्षामा प्रभावकारिता बढाइने उहाँले उल्लेख गर्नुभयो ।

आम नागरिकको मर्म र चाहना बुझेर प्रभावकारी ढंगले काम गर्ने चर्चा गर्दै प्रहरी महानिरीक्षक खनालले सूचना संयन्त्रको विकास गरी सर्वोत्कृष्ट काम गर्ने बताउनुभयो । पीडितलाई न्याय दिने सन्दर्भमा उल्लेखनीय काम गर्ने र अभियुक्तलाई कानुनको दायरामा ल्याउने विषयमा नेपाल प्रहरीलाई उल्लेखनीय सफलता मिलेको उहाँले बताउनुभयो ।

सामाजिक अपराधको रुपमा रहेको जबरजस्ती करणी हिंसा सबैभन्दा बढी आफ्न्त, छिमेकी, साथीभाइबाट भएको देखिएको चर्चा गर्दै प्रहरी महानिरीक्षक खनालले समाजको मूल्य मान्यता समाजमा स्थापित गर्नु पर्नेमा जोड दिनुभयो । सातवटै प्रदेशमा लागूऔषध दुर्व्यसनीलाई उपचारको लागि सुधार केन्द्र स्थापना गरिने उहाँले जानकारी दिनुभयो ।

उक्त गोष्ठी बुधबार सम्पन्न हुने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस