- सागर थापा
कात्तिक १९, बर्दिया । बर्दियामा लामो समय देखि भारतमा रहेको नेटवर्किङ व्यवसायका नाममा नेपालीले नै गाउँका सोझासाझा नेपालीलाई ठगी गरेको आरोपमा बर्दिया प्रहरीले ४ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।
भारत पुगेका नेपालीले भारतको लखिमपुरमा रहेको नेटवर्किङ बिजनेसका नाममा नेपालका विभिन्न जिल्लामा विस्तार गरी सोझासाझा नेपालीलाई नै ठगी गरेको आरोपमा बर्दिया प्रहरीले चार जनालाई पक्राउ गरी पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको हो । नेटवर्किङ बिजनेसका नाममा ठगी गरेको आरोपमा बर्दिया गुलरिया नगरपालिका ४ का बिवेक थारू, वडा ५ का हिमाल भनिने प्रजय चौधरी, बारबर्दिया नगरपालिका ७ का दिपक चौधरी र राजापुर नगरपालिका ३ का आशा थारूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी प्रमुख एसपी राजेश नाथ बास्तोलाले जानकारी दिनुभएको छ ।
ओरियन्स ग्लोबल नेटवर्किङ प्रालि नामक बहुराष्ट्रिय कम्पनिले नेटवर्किङ बिजनेसका नाममा ठगी गरेको आरोपमा चार जनालाई पक्राउ गरी अनुसन्धान सुरु भइरहेको र थप अरु पनि पक्राउ पर्नसक्ने जिल्ला प्रहरी प्रमुख एसपी बास्तोलाले बताउनुभयो । ‘नेपालका तर्फबाट कैलाली टिकापुर नगरपालिका(१ का २६ वर्षीय साजन चौधरीलाई सम्पर्कमा ल्याएपछि उनकै माध्यमबाट त्यसै ठाउँका सन्तोष चौधरी र कैलारी(६, बैजपुरका मनोज चौधरीलाई ल्याएपछि नेपालमा यो नेटवर्किङ बिजनेसको सुरुवात भएको देखिन्छ’ एसपी बास्तोलाले भन्नुभयो ।
ठगी मुद्धा शीर्षकमा आरोप प्रमाणित भए सजायस्वरुप मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २१ को दफा २४९ को उपदफा ३९ग० बमोजिम ७ वर्ष कैद र ७० हजार जरिबाना हुने उहाँले बताउनुभयो । कम्पनीबाट आएका एजेन्टले विभिन्न प्रलोभन देखाइ ठगी गरिरहेका पाइएको छ । हालसम्म बाँके, बर्दिया, कैलाली, दाङ र कञ्चननपुर जिल्लाका गरी झण्डै २ सय जना पीडित व्यक्तिहरुलाई उद्धार गरी उनीहरु मार्फत जानकारी लिएर त्यस कम्पनीको एजेन्टका रूपमा काम गरीरहेकाले उनिहरु पक्राउ परेका हुन् ।
ओरियन्स ग्लोबल नेटवर्किङ प्रालि नामक बहुराष्ट्रिय कम्पनिले विभिन्न देश सहित भारतको चेन्नइमा प्रधान कार्यालय, दिल्लीमा शाखा कार्यालय र लखिमपुरमा उपशाखा कार्यालय खोली नेचुरल वेल इन्टरप्राइजेज मार्फत खाद्य पदार्थको नेटवर्किङ बिजनेस गरिरहेको र प्रलोभनमा पारी सोझा मानिसलाई ठगी गर्दै विभिन्न किसिमका औषधी वितरण गरिरहेको पाइएको छ । पछिल्लो समय भारतको लखिमपुरबाट ओरियन्स नामक नेटवर्किङ व्यवसायका एजेन्टहरु नेपालको बाँके, बर्दिया, कैलाली दाङ लगायतका जिल्लामा सोझासाझा मानिसलाई ठग्न थालेको उजुरी पर्न थालेपछि नेटवर्किङ बिजनेसमा संलग्नलाई प्रहरीले नियन्त्रणमा लिन सुरु गरेको बर्दिया प्रहरी प्रमुख एसपी बास्तोलाले जानकारी दिनुभएको छ ।