असोज १८ , काठमाडौं । नेपाली सेनाले जस्तै सशस्त्र प्रहरीले पनि दशैंमा निःशुल्क बस सेवा सञ्चालन गर्ने भएको छ । सेनाले दशैंको टीकाको दिनमात्र निःशुल्क बस चलाउने भए पनि सशस्त्र प्रहरीले भने तीन दिन निःशुल्क सेवा दिने छ ।
निःशुल्क बस सेवा बडादशैंको नवमी, दशमी र एकादशीका दिन बिहान ८ बजेदेखि सञ्चालन हुने सशस्त्र प्रहरी नायव उपरीक्षक अजय छतकुलीले जानकारी दिए ।
एउटा बस सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोकबाट यात्रुको सेवामा निस्कने छ । सो बसले ठूलो भर्याङ, बनस्थली, वालाजु हुँदै विभिन्न ठाउँका स्थानीय यात्रुहरुलाई सेवा प्रदान गर्ने छ ।
दोस्रो बस पनि सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोकबाटै निस्कने छ र त्यसले सितापाइला, कलंकी, बल्खु हुँदै विभिन्न ठाउँका यात्रुहरुलाई निःशुल्क सेवा प्रदान गर्ने छ । त्यसमा यात्रा गर्नेहरुले भाडा तिर्नु नपर्ने सशस्त्र प्रहरीले जनाएको छ ।