• २०८२ बैशाख १७ गते बुधवार

दुलहा सय वर्ष दुलही १०२ वर्ष, एक वर्षको प्रेम पछी गरे विवाह

पढ्न लाग्ने समय : २ मिनेट

असार २०, काठमाडौं । भनिन्छ प्रेमको कुनै उमेर हुँदैन । तपाईं जवान हुँदा होस् वा बुढ्यौली भइसक्दा होस्, प्रेमको अनुभूती गर्न पाउनु निकै भाग्यको कुरा हो । यो कुरा अमेरिकाका एक जोडीले प्रमाणित गरिदिएका छन्, त्यो पनि सय वर्षको उमेरमा ।

अमेरिकाको ओहियोस्थित सय वर्षका जोन र  १ सय २ वर्षकी फिलिस कुकले विवाह गरेका छन् । दुबै पछिल्लो एक वर्षदेखि एक–अर्कालाई डेट गरिरहेका थिए ।

दुबैको भेट गत वर्ष किंग्सटन रेसिडेन्स नामको वृद्धाश्रममा भएको थियो । त्यसपछि उनीहरुको दोस्ती समयसँगै प्रेममा परिणत भयो । उनीहरु एक–अर्कालाई डेट गर्न थाले र गत बुधबार उनीहरुले विवाह गरेका छन् ।

जोनले आफ्नो विवाहबारे भनेका छन्, “यो हाम्रो योजनामा थिएन । तर हाम्रो यहाँ भेट भयो । यहाँ विवाह होला भनेर सपनामा पनि सोचेको थिइनँ ।”

जोनले दोस्रो विश्वयुद्ध लडेका थिए । उनी भर्खरै सय वर्ष पुगेका हुन् । अगस्ट ८ मा फिलिस १ सय ३ वर्ष पुग्नेछिन् । उनकी आमा १ सय ६ वर्ष बाँचेकी थिइन् ।  करिब १० वर्षअघि उनकी श्रीमतीको निधन भएको थियो । यस्तै, फिलिसका श्रीमानको १५ वर्षअघि निधन भएको थियो । श्रीमानको निधनपछि नै उनी वृद्धाश्रममा बस्न थालिन् ।

त्यही वृद्धाश्रममा गत वर्ष जोन पनि आएपछि आफूहरु प्रेममा परेको फिलिसले बताइन् ।

“तपाईंलाई नढाँटी भन्ने हो भने हामी एक–अर्काको प्रेममा पर्यौं । यो उमेरमा यस्तो भन्दा तपाईंलाई पनि अचम्म लाग्यो होला तर हामी साँच्चै नै प्रेममा थियौं,” फिलिसले भनिन् ।

“हामीबीच धेरै कुरा मिल्छ, हामी एक–अर्काको साथमा रमाउँछौं,” जोनले भने ।

यो नवविवाहित जोडीले राम्रो सम्बन्धको कडी के हो भन्ने प्रश्नमा उत्तर दिए, “एक–अर्काप्रतिको सम्मानले  नै सम्बन्धलाई दिगो बनाउँछ ।”

प्रतिक्रिया दिनुहोस