बैशाख २२, काठमाडौं । महानगरीय दंगा नियन्त्रण प्रहरी गण, त्रिपुरेश्वर दरबन्दी भई ताहाचल स्थित वैदेशिक रोजगार विभाग काठमाडौं कार्यालयमा सुरक्षार्थ खटिएका प्रहरी जवान गणेश लोहार सहित ३ जना सत्र हजार घुस रकम सहित पक्राउ परेका छन ।
साउदी अरबका लागि श्रम स्वीकृति लिने सिलसिलामा सेवाग्राहीसँग घुस रकम माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा महानगरीय प्रहरी वृत्त, कालीमाटीबाट खटिई गएको प्रहरी टोली उनलाई रु.१७,०००।– घुसबापतको रकम लिएको अवस्थामा ताहाचल स्थित वैदेशिक रोजगार विभागबाट नियन्त्रणमा लिएको हो । महानगरीय प्रहरी परिसर काठमाडौंबाट उनलाई कार्वाहीका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, टङ्गालमा पठाइएको थियो । अख्तियारबाट अनुसन्धान हुँदा श्रम स्वीकृति प्रदान गर्ने सम्बन्धमा अरेबिक भाषा अनुवादक अजाद आलम, प्रहरी जवान विष्णु नाथ र प्रहरी जवान गणेश लोहारको आपसी मत सल्लाह र संलग्नतामा घुसलिएको पुष्टि हुन आएको हो ।
उनिहरुलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय (क) बमोजिम जरिवाना र कैद सजाय हुन मागदाबी लिई आज विशेष अदालत काठमाडौंमा आरोप पत्र दायर गरिएको प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिनुभयो ।