- प्रभात विक्रम कटुवाल
बिरोध के मा हो महाशयहरू ? सम्माननीय राष्ट्रपतिले सरकारको ‘नीति तथा कार्यक्रम’ प्रस्तुत गर्दा ‘मेरो सरकार’ भनी संवोधन गरेकोमा हो वा अरू केही देखिने र नदेखिने कुरा छन् ?
तपाईं र हामीले नै बनाएको संविधानले राष्ट्रपतिलाई कुन स्थानमा राखेको छ ? के कस्ता निर्णायक काम गर्ने भूमिकामा राखेको छ ? राष्ट्रपति संस्था पनि निर्वाचित जनप्रतिनिधि हो कि होइन ? त्यही हिसावले राज्य (सरकार) को पनि सबैभन्दा माथिल्लो तहको आधिकारिक संस्था हो कि होइन ?
अन्य देशहरू जहाँ संबैधानिक राष्ट्राध्यक्ष वा राष्ट्र प्रमुख हुन्छन्–त्यहाँ सरकारका नीति कार्यक्रमहरू प्रस्तुत गर्दा तिनले सरकारको प्रसंगमा ‘मेरो सरकार’ भन्ने गरेका छन् कि छैनन् ? त्यस्ता देशका उदाहरण दिइरहनुपर्छ ? सरकार समय समयमा परिवर्तन भैरहन सक्छन् तर परिवर्तन भए पनि ती प्रत्येक सरकार त्यसवेलाका राष्ट्राध्यक्षका लागि आफ्नै सरकार हुन्छन्–राष्ट्राध्यक्षले भन्दा ‘मेरै सरकार’ भन्छन् । तर सरकारमा भएको वा नेतृत्व गरेको कुनै पार्टीलाई सम्झेर सरकारभन्दा बाहिर रहेको वा सरकारमा पुग्न नसकेको मानसिकता व्यक्त गरेर के फाइदा ? कुण्ठा त व्यक्त गर्न सकिएला तर तात्विक अर्थ दिदैंन त्यस्तो अभिव्यक्तिले ।
विगतमा राजा राष्ट्र प्रमुख भएका वेला ‘मेरो सरकार’ भनेको सम्झेर त्यसैको झझल्को आएको हो कि ? आउन सक्छ तर, वंश परम्परामा आधारित, अनिवार्चित राजाले राष्ट्राध्यक्षको हैसियतले ‘मेरो सरकार’ भन्नु र अहिले निर्वाचित र संघीय लोकतान्त्रिक गणतन्त्रको संविधानमा व्यवस्था भए बमोजिमका राष्ट्रपतिले ‘मेरो सरकार’ भन्नु एउटै कुरा हो ? एउटै कुरा हुनसक्छ ?
आफ्नो बारेमा सार्वजनिक रूपमा उठेका कुरामा सार्वजनिक रूपमा बोल्न वा प्रतिवाद गर्न नसक्ने संस्थाका बारेमा अमर्यादित, अशिष्ट, गैरजिम्मेवार टिकाटिप्पणी गरेर आफूलाई घटिया चरित्रका प्रवृत्ति र पात्रका रूपमा प्रस्तुत नगर्नु नै बुद्धिमानी हनेछ । ‘नीति कार्यक्रम’ मा प्रस्तुत गरिएका नीति र कार्यक्रममा सार्थक वहस र छलफल गरौं तर ‘नन इस्यू’ मा, निरर्थक विषयमा वहसमा समय खेर नफालौं ।
धन्यवाद !!