• २०८२ जेष्ठ ७ गते मङ्गलवार

बिरगञ्जबाट पेस्तोल तथा गोली सहित १ जना पक्राउ

पढ्न लाग्ने समय : २ मिनेट

भदौ १८, पर्सा । वीरगंज महानगरपालिका-१६ ईनर्वा बस्ने सत्यराज योगी उपनाम भएका २६ वर्षीय सन्तोष दास तत्मालाई म्याग्जीन सहितको पेस्तोल १ थान, गोली १७ राउण्ड र सेतो प्लाष्टिकमा रहेको खैरो रंगको धुलो जस्तो पदार्थ अन्दाजी १ सय ७० ग्राम सहित मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।

वीरगंज महानगरपालिका-१३ राधेमाईस्थित चोकमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले चेकजाँच गर्ने क्रममा पैदल आउँदै गरेका तत्माले प्रहरीलाई हतियार देखाई ताक्दै भाग्न लागेपछि प्रहरीले नियन्त्रणमा लिन जवाफी कारवाहीको क्रममा गोली प्रहार गर्दा तत्माको दाहिने घुँडामा गोली लाग्न गई घाइते भएका थिए ।

घाइते तत्मालाई तत्कालै उपचारको लागि नारायणी अस्पताल लगिएको र अवस्था सामान्य रहेको छ ।

वीरगंजका सर्वसाधारण, उद्योगी व्यापारीहरु लगायतलाई फोनबाट धम्की दिई रकम माग्ने गरेको, वीरगंज नगरमा विभिन्न मिति तथा स्थानहरुमा बिस्फोटक पदार्थ (पटाका) पड्काई जनमानसमा भयत्रासको वातावरण सिर्जना गरेको र वीरगंजमा भयत्रास फैलाउने उद्देश्यले आपराधिक समूहका व्यक्तिहरु हातहतियार गोलीगठ्ठा सहित प्रवेश गर्दै छन् भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उक्त चोकमा चेकप्वाईन्ट खडा गरी चेकजाँच गर्ने क्रममा उनलाई फेला पारेको हो ।

साथै निज तत्मा यस भन्दा अगाडि आर्थिक वर्ष २०६४/०६५ मा हातहतियार मुद्दामा पुर्पक्षको लागि जेल चलान भएको तथा आर्थिक वर्ष २०६६/०६७ मा पशुपती रोड कैरियर ट्रान्सपोर्टमा काम गर्ने राजेश्वर दुवेलाई गोली प्रहार गरी हत्या गरेको कर्तव्य ज्यान मुद्दामा ८ वर्ष ५ महिना १० दिन कैद संजाय भुक्तान गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस