असार १९, संखुवासभा । संखुवासभा सिलिचोङ गाउँपालिका-१ तेन्छोङकोडेबाट ओखलढुंगा चिशखुगढी गाउँपालिका-७ घर भएका निम दोर्जी तामाङलाई विभिन्न हातहतियार लगायतका सामान सहित मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
हातहतियार सहित आएका व्यक्तिहरुको समूहले स्थानीयलाई हतियार देखाई आतंकित पारी मोटो रकम माग्ने गरेको भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय संखुवासभा र सशस्त्र प्रहरी बल चैनपुर समेतबाट सोमबार खटी गएको गस्ती टोलीले उक्त समूहको खोजी गर्ने क्रममा लुकिछिपी बसेको अवस्थामा तामाङलाई फेला पारी पक्राउ गरेको हो ।
निज तामाङको झोलामा लुकाई राखेको एसएलआर राईफलमा प्रयोग हुने गोली २५ राउण्ड, निजको नागरिकता र सिम नभएको मोबाइल १ थान तथा निजले दिएको सूचनाको आधारमा सिलिचोङ गाउँपालिका-१ होयाङला मयङ्दस्थित ओडारमा लुकाई राखेको १ राउण्ड गोली च्याम्बर लोड भएको एसएलआर राइफल १ थान, १० राउण्ड गोली लोड भएको म्याग्जिन १ थान, २० राउण्ड गोली लोड भएको एलएमजी राइफलमा लाग्ने म्याग्जिन १ थान, एसएलआर राइफलको गोली ५४ राउण्ड र विष्फोटन गराउन प्रयोग हुने ३४ फिट लामो डेडकर्डको साथै घटनास्थलबाट एनसेल सिम तथा मेमोरी कार्ड सहितको मोबाइल १ थान, एसएलआर राइफलको गोलीको खोका १३ थान, स्लिपिङ ब्याग १ थान, झोला १ थान, कार्लमाक्स व्यक्तित्व र कृतित्व लेखेको पुस्तक १ थान र डायरी १ थान प्रहरीले बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।