• २०८० मङ्सिर २५ गते सोमवार

दैलेखमा वैज्ञानिक वन व्यवस्थापन तालिम

पढ्न लाग्ने समय : २ मिनेट

भावना हमाल

असार १९, दैलेख । भैरबी गाउँपालिका–१ का वडाध्यक्ष काशिराम कार्कीले वैज्ञानिक वन व्यवस्थापनले वन क्षेत्रको संरक्षण र वातावरण अनुकूलनमा सहयोग पुग्ने बताउनु भएको छ । डिभिजन वन कार्यालयले दैलेख सदरमुकाममा विहीबार आयोजना गरेको पत्रकारहरुका लागि वैज्ञानिक वन व्यवस्थापन अभिमुखिकरण कार्यक्रममा उहाँले यस्तो बिचार राख्नुभएको  हो ।

परम्परागत प्रविधिले वन संरक्षण हुन नसकेको कारण वैज्ञानिक वन व्यवस्थापन नीति ल्याएको कार्कीले बताउनुभयो । उहाँले सामुदायिक वन उपभोक्ता महासंघ लगायत सरोकारवाला निकायहरुले यो कार्यक्रम सहयोग गर्नुपर्ने अपेक्षा गर्नुभयो । जलवायु परिवर्तनको कारण बिग्रँदै गरेको वातावरण सुधार गर्न वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम परिणाम मुखी हुने नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष चक्र केसीले बताउनुभयो ।

दैलेखको दुल्लू नगरपालिका–१० गमौडीको छितावारी सामुदायिक वन र भैरबीगाउँपालिका–१ रावतकोटको रातिखाल सामुदायिकवनमा लागू भएको वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम १० वर्ष चालु हुने बताइएको छ । एक सय हेक्टर भन्दाबढी क्षेत्रफल भएको, उपभोक्ताहरुको सक्रियता र कम भिरालालाई रोज्ने क्रममा ३ महिना अघि ती सामुदायिक वनलाई छनौट गरिएको सहायक वन अधिकृत नवराज पौडेलले जानकारी दिनभयो ।

दैलेखमा कुल ३ सय ८० सामुदायिक वन मध्ये ५६ वटा सामुदायिक वन मात्र नियमित रुपमा लेखा परीक्षण, आवधिक योजना बनाउने, निर्धारित समयमा साधारण सभा तथा अरु प्रशासनिक काम गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस