कात्तिक १७, काठमाडौं । बलिउडका ‘ए’ लिस्ट कलाकारले गर्न नचाहेका भूमिकामा आफूलाई ढालेर बक्स अफिस र बलिउड इन्डिष्ट्रिमा पहिचान बनाउन सफल अभिनेता हुन् आयुष्मान खुराना ।
‘विक्की डोनर’, ‘ड्रिम गर्ल’ र ‘अन्धाधुन’जस्ता चलचित्रमा फरक भूमिकामा पाएको सफलता र सम्मानका कारण आयुष्मानको उचाई अझै बढेको छ । उनका हरेक चलचित्र बलिउडका ‘ए’ लिस्ट कलाकारको चलचित्र जस्तै एकपछि अर्को सफल भैरहेका छन् ।
उनै सफल अभिनेता आयुष्मान आफूले पाएको सफता, कदर र सम्मानमा आफू एक्लैको हात नभएर पूरै टिमको भएको बताउँछन् । उनका अनुसार यो सफलतामा उनका हरेक चलचित्रका निर्देशक, लेखक, सहकर्मीहरु र विशेषगरि निर्माताको ठूलो हात भएको बताउँछन् ।
आयुष्मान यो सफलतालाई एउटा राम्रो सहकार्यको उपमा दिन्छन् । अहिले राम्रो विषयमा चलचित्र बनाउने प्रतियोगीता धेरै भएकोले हरेक टिममा अरुभन्दा अलग र उत्कृष्ट दिन सक्ने क्षमता हुनुपर्ने उनको बुझाइ छ । ताकी दर्शकलाई हलसमम्म तान्न सफल होस् ।
“मैले चलचित्रमा अलग भूमिका गर्नुअघि केही पनि सोचिन, किनभने मेरो केही छवी नै थिएन्, त्यसैले मैले इन्डिष्ट्रिको नियमहरु तोडिदिएँ । मैले कहिले पनि मेरो यस्तो छवी हुनुपर्छ भनेर सोचिन । साँचो कुरा भन्नुपर्दा हामी कोही पनि पर्फेक्ट छैनौँ र हाम्रो देश इम्पर्फेक्ट व्यक्तिहरुबाटै भरिएको छ । जब अधिकतर जनता इम्पर्फेक्ट छन् त हिरो पनि उनीहरुबाटै बन्नु पर्छ । ता की आम दर्शकलाई यो महसुस होस् कि हरेक व्यक्तिमा कमजोरी हुन्छ, तर त्यसको बावजुद पनि त्यो हिरो हो,” उनले भने ।
उनको अभिनय रहेको चलचित्र ‘बाला’ यहि नोभेम्बर ८ मा रिलिज हुँदैछ । यस चलचित्रलाई अमर कौशिकले निर्देशन गरेका छन् । दिनेश विसनले निर्माण गरेका छन् । ‘बाला’ पछि आयुष्मान ‘गुलाबो सिताबो’ र ‘शुभ मंगल ज्यादा सावधान’ मा देखिँदै छन् ।