वैशाख २०, काठमाडौं । नेपाल प्रहरीमा ‘इन्काउन्टर स्पेशलिस्ट’ मानिने प्रहरी नायब उपरीक्षक कुमोध ढुंगेल निलम्बनमा परेका छन्। हाल इलाका प्रहरी कार्यालय चन्द्रनिगाहापुर रोतहटमा कार्यरत डिएसपी ढुंगेललाई निलम्बन गरिएको हो।
प्रहरी प्रधान कार्यालयले बिहीबार डिएसपी ढुंगेललाई निलम्बन गरेको पुष्टि गरेको छ। चोरी तथा डकैतीमा संलग्न व्यक्तिहरूसँग नियमित सम्पर्क रहेको भन्दै प्रहरी प्रधान कार्यालयले ढुंगेललाई निलम्बन गरेको स्रोतले बतायो। स्रोतका अनुसार ढुंगेललाई बिहीबारबाटै निलम्बन गरिएको छ।
लुटपाट तथा डकैती गरेको अभियोगमा पक्राउ परेका व्यक्तिले डिएसपी ढुंगेलको नाम लिएका थिए। गत चैत २६ गते रानीबारीमा भएको डकैती प्रकरणमा पक्राउ परेका विकास श्रेष्ठ र डिएसपी ढुंगेलबीचको कल विवरण सार्वजनिक भएको थियो। डकैत तथा लुटपाट घटनाका अभियुक्तले घटना गराएको दिन ढुंगेललाई भेटेको बयान दिएका थिए। गत चैत २६ गते काठमाडौं २९ स्थित रानीबारीमा भएको लुटपाट घटनामा पक्राउ परेका विक्रम श्रेष्ठले घटना गराएकै दिन डिएसपी ढुंगेललाई महाराजगञ्जको भेनस रेस्टुरेन्टमा भेटेको बयान दिएका थिए।