- सागर थापा
बैशाख २०, दाङ । प्रदेश नम्बर ५ का प्रहरी प्रमुख डिआइजी पिताम्बर अधिकारीले ट्राफिक नियमको उलंघन आफले कहिल्यै पनि गर्दिन भन्दै आज दाङको लमहीमा प्रतिबद्धता सहितको हस्ताक्षर अभियानमा हस्ताक्षर गरेका छन ।
ट्राफिक सचेतना सम्वन्धी ट्राफिक सप्ताह अन्तरगत दाङको लमहीमा हस्ताक्षर अभियानमा सहभागी हुदै उनले सचेतना मुलक अभियान तिब्र र निरन्तर भैरहेको समयमा दुर्घटना बढेको प्रति चिन्ता व्यक्त गर्दै प्रचार प्रशार शैलीमा परिवर्तन गर्नुपर्ने खाँचो रहेको बताए। उनले भने- “सवारी दुर्घटना न्यूनिकरण गर्न परम्परागत प्रचार र सचेतना शैलीमा परिवर्तन गर्न आवश्यक छ । विद्यार्थी, सवारीचालक, पैदलयात्रीहरुसंग हरेक दिन सचेतना मुलक कार्यक्रम भैरहेका छन् । तर, दुर्घटना किन उत्तिकै भैरहेको छ अधिकारीले भने मोटरसाइकल, स्कुटी झनै दुर्घटनाको उच्च जोखिममा छन ।” “अब मोटरसाइकल, स्कुटी चालकको अभिभावक संग सचेतना कार्यक्रम गर्नुपर्छ । ताकी लाइसेन्स विना चलाउने, आफु खुसी सवारी चलाउनेहरुलाई घरबाटै निगरानी बढाउन सकिन्छ ” डिआइजी अधिकारीले बताए ।