• २०८१ फाल्गुन २ गते शुक्रवार

सामूहिक बलात्कारको आरोपमा तीन जनालाई इलाका प्रहरी कार्यालय इटहरीले पक्राउ,दुई फरार

पढ्न लाग्ने समय : १ मिनेट

असोज १५ , इनरुवा । युवतीमाथि सामूहिक बलात्कारको आरोपमा तीन जनालाई मंगलबार इलाका प्रहरी कार्यालय इटहरीले पक्राउ गरेको छ । सोही घटनामा संलग्न दुई जना फरार भएका छन् ।

पक्राउ पर्नेमा सुन्दरहरैचा–१२ का बसचालक विकास कसई, झापा सुरुङ्गा–४ का सुरज थापा र सिरहाका सुजेन्द्र भुजेल रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक विनोद शर्माले जानकारी दिए ।

सोही घटनामा संलग्न मोरङ बेलबारीका नितेश घिमिरे र ताके भन्ने सुमन फरार रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । इटहरीमा सोमबार मध्यरातमा पाँच युवाको समूहले युवतीलाई सामूहिक बलात्कार गरेको प्रहरीले जनाएको छ । इटहरीको धरान–विराटनगर सडकखण्डको साथी पेट्रोलपम्प नजिक युवतीलाई बलात्कार गरेको प्रहरीको भनाइ छ ।

धरानबाट को १ ख ४६२६ नं को बसमा हालेर इटहरी ल्याई युवतीलाई रोडको छेउमा पालैपालो बलात्कार गरेको प्रहरीले जनाएको छ । युवाहरुको समूहले सडक छेउमै एक युवतीलाई सामूहिक बलात्कार गरेको विषयमा स्थानीयवासीले प्रहरीलाई जानकारी गराएपछि उनीहरु पक्राउ पर्न सफल भएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घटनाका विषयमा अनुसन्धान भइरहेको र पीडित युवतीको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस