जेठ १९, बर्दिया । श्री युवक उच्च माध्यमिक विद्यालय, जोगीगाउँ, बर्दियाका तत्कालीन शिक्षक वीर बहादुर थारूको शैक्षिक प्रमाण पत्र नक्कली पाइएको छ ।
श्री युवक उच्च माध्यमिक विद्यालय, जोगीगाउँ, बर्दियामा कार्यरत उच्च माध्यमिक अन्तर्गत लेखा विषयका शिक्षक वीर बहादुर थारूको स्नातकोत्तर तहको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली भएको हो । शैक्षिक प्रमाणपत्र नक्कली भएकाले आवश्यक छानबिन गरी कारवाही गरी पाउँ भन्ने उजुरी सम्बन्धमा अनुसन्धान यस्तो खुल्न आएको हो । उच्च माध्यमिक तह, अनुदान कोटा लेखा विषयको अस्थायी करार शिक्षक वीर बहादुर थारूले डा. राम मनोहर लोहिया अवध विश्वविद्यालय, फैजावाद भारतबाट M.COM पास गरेको नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी पदमा नियुक्ति भएका हुन ।
अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार वीरबहादुर थारू माथि भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम कैद र जरिवानाको सजाय हुन मागदाबी लिई आज विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।