जेठ १९, काठमाडौं । शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा कार्यरत इन्जिनियर प्रदीप कुमार यादवको शैक्षिक प्रमाण पत्र नक्कली पाईएको छ ।
इन्जिनियर प्रदीप कुमार यादवको इन्जिनियरको सर्टिफिकेट नक्कली रहेको हुँदा आवश्यक छानबिन गरी कारवाही गरी पाउँ भन्नेसमेत व्यहोराको उजुरी सम्बन्धमा अनुसन्धान हुँदा नक्कली पाईएको हो । इन्जिनियर प्रदीप कुमार यादवले इलेक्ट्रिसिटी सहायक पदमा नियुक्ति भएकोमा इन्जिनियर पदमा बढुवा हुने प्रयोजनका लागि पोखरा विश्वविद्यालय, परीक्षा नियन्त्रणको कार्यालय, कास्कीबाट जारी भएको Bachelor of Electrical and Electronics Engineering तहको शैक्षिक प्रमाणपत्र र नेपाल इन्जिनियरिङ परिषद्, नक्साल, काठमाडौंबाट जारी भएको साधारण दर्तावाला इन्जिनियरको नाम दर्ता प्रमाणपत्र नक्कली बनाई पेश गरेका हुन ।
उनलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम कैद र जरिवानाको सजाय हुन मागदाबी लिई आज विशेष अदालत काठमाडौंमा आरोप पत्र दायर गरिएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिनुभयो ।