• २०८२ बैशाख ४ गते बिहिवार

गाउँपालिकाको सडक निर्माणको काम वन कार्यालयले रोक्यो

पढ्न लाग्ने समय : २ मिनेट

पुरुषोत्तम गिरी ,सल्यान –  छत्रेश्वरी गाउँपालिकाको धार्मिक पर्यटकिय स्थल छायाँक्षेत्र जोड्ने सडकको स्तरोन्नतिको काममा डिभिजन वन कार्यालय सल्यानले रोक लगाएको छ ।

गाउँपालिकाले आफ्नो आन्तरिक श्रोतबाट सकड स्तरोन्नतिको काम सुरु गरेको थियो । 

शंखमूलदेखि छायाँक्षेत्रसम्मको झण्डै ५ किलोमिटर सडकलाई हालको अवस्थाबाट साढे २ मिटर चौडा बनाएर ११ मिटरको बनाउन लागिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्ली खड्काले बताउनुभयो । ‘सडकको स्तरवृद्धिको काम गर्न थालेको २० दिन भयो’, प्रमुख प्रशासकीय अधिकृत खड्काले भन्नुभयो, ‘साना–ठूला डोजरले हालसम्म झण्डै २५ लाख बरावरको काम भएको छ ।’  

डिभिजन वन कार्यालय सल्यानले भने गाउँपालिकाले स्तरोन्नति गर्न लागेको सडकमा वातावरणीय परीक्षण नगरिएको र स्तरोन्नतिको क्रममा रुखहरु ढालेकोले रोक लगाउनुपरेको बताएको छ । डिभिजन वन कार्यालयले निर्माण कार्यमा बिहीबारदेखि रोक लगाएको छ डिभिजन वन कार्यालय सल्यानका प्रमुख थीरबहादुर कार्कीले भन्नुभयो, ‘बिना प्रक्रिया धमाधम रुख ढालेको उजुरी परेपछि रोक लगाएका हौँ ।’ उजुरीपछि स्थलगत अवलोकनको क्रममा हेर्दा प्रक्रियाबिनाकै भएकाले रोक्नु परेको उहाँले बताउनुभयो । 

कार्यालय प्रमुख कार्कीले प्रक्रियाबिना काम गरेका सबै ठा“उमा रोक लगाउने जानकारी समेत दिनुभयो ।  ‘वातावरण परीक्षण नगरी तथा प्रक्रिया नपुर्‍याई गरेको कामलाई हामी विकास भन्दा विनास ठान्छौँ’, उहाँले भन्नुभयो, ‘यसले गर्दा धेरै रुखहरु मासिने मात्र नभई वातावरणमा समेत ठूलो असर पर्छ, रुख जोगाउन हामी चाहन्छौँ ।’ उहाँले वातावरणमैत्री तथा प्रक्रिया पुर्‍याएर दकाम गरे आफूहरुले रोक नलगाउने बताउनुभयो । 

डिभिजन वन कार्यालयले काम रोक्न परिपत्र गरेपछि गाउँपालिकाले बिहीबारदेखि काम रोकेको छ । गाउँपालिकाका अध्यक्ष सन्तोष केसीले सुरुवात भैसकेको सडक पूरा गर्न आफुहरु प्रक्रियाअनुसार अघि बढ्ने बताउनुभएको छ । ‘निःस्वार्थ रुपमा तीर्थयात्रीहरुको हितका लागि र पर्यटकीय स्थलको रुपमा विकास गर्न सडक विस्तारको काम गर्न थालेका थियौँ’, गाउपालिका अध्यक्ष केसीले भन्नुभयो, ‘सडक स्तरोन्नतिको काम अति आवश्यक भएकाले प्रक्रियाअनुसार काम अगाडि बढाउछौँ ।’

सतीदेवीको बाँकी रहेका सबै अङ्ग पतन भएको विश्वास गरिने शक्तिपिठ धार्मिकस्थल छत्रेश्वरीमा वर्षमा झण्डै एक लाख तीर्थयात्री पुग्ने र्गदछन । सडक साँघुरो भएकोले दर्शनार्थीहरुलाई पैदलै हिँडनुपर्ने बाध्यता छ । ujyaaloonline बाट साभार

प्रतिक्रिया दिनुहोस