श्रावण १६, काठमाडौं । दक्षिण युरोपियन मुलुक माल्टा जाने प्रलोभनमा एउटै कन्सल्टेन्सीबाट सात सयजना ठगिएका छन् । एक सय १८ जनाले त प्रहरी कार्यालयमा उजुरी नै दिएका छन् । उपत्यकाका विभिन्न ठाउँमा चारवटा शाखा कार्यालय खोली चाबहिलस्थित ग्रिनफिल्ड एजुकेसन कन्सल्टेन्सीले ठगी धन्दा चलाउँदै आएको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।
अनुसन्धानपछि प्रहरीले विभिन्न व्यक्तिका ७६ वटा पासपोर्ट बरामद गरेको छ । माल्टा लैजाने भन्दै सात सय ३७ जनासँग गरिएको दोहोरो सम्झौतापत्रसमेत बरामद भएको छ । कन्सल्टेन्सीले पीडितबाट उठाएको दुई करोड ८६ लाख रुपैयाँको चेकसमेत बरामद गरेको प्रहरीले जनाएको छ । तर, प्रहरीकहाँ कानुनी उपचारका लागि एक सय १८ को मात्रै जाहेरी परेको छ । जाहेरी दिनेको मात्रै एक करोड ८८ लाख ११ हजार रुपैयाँ ठगी भएको अनुसन्धानबाट खुलेको छ । तर, ठगीका मुख्य अभियुक्त सञ्जिव तामाङ र रूपबहादुर गुरुङ भने फरार छन् । उनीहरू कन्सल्टेन्सी सञ्चालक हुन् ।
परिसरका प्रवक्ता डिएसपी होविन्द्र बोगटीले माल्टा लैजाने प्रलोभनमा एउटै कन्सल्टेन्सीबाट ठगिनेको संख्या धेरै भएको बताए । उनले भने, ‘ठगिएको भन्दै उजुरी आयो । प्रहरी तत्काल अनुसन्धानमा जुट्यो । कन्सल्टेन्सीमा छापा पनि मारियो । यसक्रममा केही डकुमेन्ट फेला परेको छ । ठगिनेकोे संख्या धेरै भएको भेटिएको छ । जसमध्ये एक सय १८ को जाहेरी परेको छ । बाँकीको जाहेरी आउने क्रममा छ ।’
प्रहरीका अनुसार कन्सल्टेन्सीले पाँच महिनाकै अवधिमा सात सय भन्दा धेरैलाई ठगी गरेको छ । यसका लागि उसले सामाजिक सञ्जाल प्रयोग गरेको थियो । फेसबुकमा ‘वैदेसिक डिमान्ड अनलाइन’ नामको आइडी खोलिएको थियो । सोही आइडीमा माल्टास्थित विभिन्न होटलका लागि कर्मचारी आवश्यक भएको र कमाइ प्रतिमहिना एक लाख ३० हजार रुपैयाँ हुने उल्लेख थियो ।
लोभिएका सर्वसाधारण सोही आइडीमार्फत कन्सल्टेन्सीको सम्पर्कमा पुगेका थिए । प्रलोभनमा फसेका उनीहरूले २० हजार रुपैयाँदेखि ६ लाख रुपैयाँसम्म बुझाएका थिए । जसमध्ये केहीले नगद र केहीले चेक बुझाएका थिए । रकम संकलनपछि सञ्चालक फरार भए । त्यसपछि मात्रै ठगिएको भेउ पाएर प्रहरी कार्यालय पुगेका थिए ।
परिसर प्रमुख एसएसपी उत्तम सुवेदीले भने, ‘ठगीका धेरैजसो केस अन्तिम अवस्थामा पुगेपछि मात्रै प्रहरी कहाँ आउने हो । ग्रिनफिल्ड कन्सल्टेन्सीको हकमा पनि त्यही भयो । ठगिनेको संख्या धेरै छ । जाहेरी पनि धेरै आएका छन् । आउने क्रम जारी छ । घटना अनुसन्धानकै क्रममा छ ।’ यो समाचार आजको नया पत्रिकामा टेकराज थामीले तयार पारेका छन ।