• २०८२ बैशाख १७ गते बुधवार

जो रक्षक उहि भक्षक :प्रहरीकै संरक्षणमा जुवा

पढ्न लाग्ने समय : ३ मिनेट
  • खबर 24 नेपाल ब्यूरो टिम

बैशाख १८, नेपालगन्ज । प्रहरी समाजमा शान्ति सुरक्षा कायम गर्ने र सामाजिक विकृतिविरुद्ध सक्रिय रहने सरकारी जनशक्ति हो तर बाँकेको कोहलपुर क्षेत्रमा अहिले डिएसपी रमेशबहादुर सिंहकै संरक्षणमा मिनी क्याशिनो झै जुवा अखडा चलेका छन् । 

प्रहरीको काम कानून विपरित कार्य गर्ने, गराउनेलाई कारवाहीको दायरामा ल्याउनु पनि हो । तर, सामाजिक शान्ति सुरक्षा र सभ्य समाज निर्माणमा खट्नु पर्ने प्रहरी नै गलत बाटोमा लागेपछि त्यसको परिणाम कस्तो आउला ?

डिएसपी सिंहकै निर्देशनमा जुवाखालमा प्रहरीकै संरक्षण बढ्दो छ ।  डिएसपी सिंहले घुमुवा मार्फत तोकिएको रकम मासिक रूपमा असुल्दै आएको जानकारहरू बताउँछन् । सम्झाना, मदनचोक, चप्परगौडी, कोहलपुर बजार भित्रका विभिन्न भागमा रहेका जुवाखाल डिएसपी सिंहका आम्दानीका स्रोत भएको असुली सक्रिय एक घुमुवा बताउँछन् ।

जुवा अखडाका रूपमा सबैभन्दा संरक्षित बन्दै आएका यी क्षेत्रमा प्रहरी नै यस्ता गैरकानुनी गतिविधिको संरक्षण गर्दै आएको आरोप जिल्ला प्रहरी कार्यालयदेखि प्रहरी मुख्यालयसम्म पुगेको छ । तर, तलदेखि माथीसम्मै सेटिङ भएकोले ती जुवाघर निर्धक्क चलिरहेको नागरिक बताउँछन् । कोहलपुरमा कार्यरत घुमुवा प्रहरीलाई जुवाखालको संरक्षण गर्दै मोटो रकम असुली गर्न डिएसपी सिंहले आन्तरिक निर्देशन दिएको खुलेको छ । कोहलपुरका एक घुमुवाकै शब्दमा ‘यहाँका डिएसपीको पछिल्लो मिसन भनेकै कमाउ हो ।’ उनले भने ‘डिएसपी आदेश छ हामी त आदेश पालक हो । सूचना हैन पैसा संकलनमै फुर्सद छैन् ।’

प्रहरी स्रोतकाअनुसार कोहलपुरका डिएसपी सिंहले पछिल्ला केही महिना यता जुवाखालबाटै मासिक पाँच लाखबढी असुली गरिसकेका छन् । गोरू तस्करीमा सेमत घुस नलिएको देखावटी नाटक गरेर उनले मोटो रकम लिएको खुलेको छ । डिएसपी सिंहकै निर्देशनमा यसअघि दुईजना घुमुवाले जुवाखालबाट पैसा उठाउँदै आएका थिए । अहिले जुवाखाल संचालन र रकम असुलीकै लागि डिएसपीले केही घुमुवा समेत थपेको कोहलपुर प्रहरी स्रोत बताउँछ ।

नियमित पैसा बुझाउनेलाई डिएसपीको निर्देशनमा घुमुवाले नै संरक्षण दिने गरेको जानकारहरू बताउँछन् । कतिपय ठाउँहरुमा उनीहरुले नै जुवा खेलाउने गरेका छन् । यसरी डिएसपीकै निर्देशन र घुमुवाको संरक्षणमा खेलाइएका जुवाघरबाट हुने असुली डिएसपी हुँदै डिआईजीसम्म पुग्ने गरेको खुलेको छ । कोहलपुर क्षेत्रका स्थानीयले प्रहरीको यस्तो ज्यादतीको प्रहरीमै उजुरी गरेका छन् । तर सुनुवाई हुन सकेको छैन् ।

ललितपुरमा हुँदा घुससहित रंगेहात पक्राउ परेका कोहलपुरका डिएसपी सिंहको अहिलेपनि पुरानो प्रवृत्ति आन्तरिक रूपमा कायमै छ । पैसा बुझाएरै उनी कोहलपुरमा इन्चार्ज भई आएको पनि खुलेको छ । उनी प्रहरी बर्दिको आडमा अहिले तीब्र कमाउ धन्दामा लागिरहेका छन् । केही दिनअघि मात्रै डिएसपी सिंहले राष्ट्रिय मानव अधिकार आयोगमा घेरा हाली आयोगका कर्मचारीमाथी नै धावा बोलेका थिए ।

उनीमाथी अनुसन्धान गरि कारवाही गर्न आयोगले प्रहरी प्रधान कार्यालय लगायतका निकायमा सिफािरस सहितको निर्देशन पनि दिइसकेको छ । आयोगको नजरमा गम्भीर मानवअधिकार हनन् गर्ने प्रहरी अधिकारमध्ये उनी अग्रपंक्तिमा नै पर्ने गरेका छन् । कोहलपुर क्षेत्रमा क्यासिनो जस्तै गरि जुवा खेल प्रहरीकै संरक्षणमा भइरहेको बारे बुझन टेलिफोन सम्पर्क गर्न खोज्दा डिएसपी सिंहको मोबाईलमा सम्पर्क हुन सकेन् । तर, उनले कोहलपुर क्षेत्रमा शान्ति सुरक्षाको अवस्था बलियो हुनुका साथै आपराधिक घटना हुन नदिएको दाबी गर्दै आइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस