बैशाख १८, चितवन । चितवनमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ भने मोटरसाइकलमा सवार एक घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार ना७ख २२६९ नंको टिपरले ना१८प १००१ नं को मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको हो।
चौबिसकोठीबाट भरतपुर महानगरपालिका–५ लङ्कु विशालचोकतर्फ जाँदै गरेको टिपरले मंगलबार बिहान ८ः२० बजे विपरीत दिशाबाट आउँदै गरेको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक स्थानीय ५२ वर्षीय धर्मराज अधिकारीको मृत्यु भएको हो। ठक्करबाट घाइते अधिकारीको उपचारका क्रममा गए राति २ बजे पुरानो मेडिकल कलेजमा मृत्यु भएको हो।
यसैबीच मोटरसाइकलमा सवार अधिकारीकी श्रीमती ४५ वर्षीया कमला अधिकारी घाइते भएकी थिइन्। उनको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ। मोटरसाइकललाई ठक्कर दिने टिपर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।