विदेशी राजदूतलाई सरकारकाे आग्रह ,भ्रमण वर्ष सफल पार्न

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : २ मिनेट

मंसिर, १९ काठमाडौँ । नेपाल भ्रमण वर्ष २०२० आउन १ महीना बाँकी रहँदा सरकारले नेपालस्थित विदेशी कूटनीतिक नियोग तथा दातृ निकायलाई भ्रमण वर्ष सफल पार्न आग्रह गरेको छ । पर्यटन मन्त्रालयले नेपालस्थित ३१ मुलुकका राजदूत र पाँच दातृ निकायका प्रमुखसँग बुधवार गरेको अन्तरक्रियामा भ्रमण वर्षको सफलताका लागि उनीहरूको सहयोगको अपेक्षा गरेको हो ।

पर्यटन मन्त्रालयमा भएको अन्तरक्रियामा पर्यटन मन्त्री योगेश भट्टराईले नेपाल भ्रमण वर्ष–२०२० को विषयमा आ–आफ्ना मुलुकमा सन्देश प्रवाह गरी ती देशका नागरिकलाई नेपाल पठाउन आग्रह गरे ।

उनले सरकारको विदेश सम्बन्धमा पर्यटन कूटनीति पनि महत्त्वपूर्ण पाटो भएको बताउँदै सोहीअनुरूप राजदूत र दातृ निकायका प्रमुखलाई मन्त्रालयमै बोलाएर आग्रह गरिएको बताए । २०७२ सालको भूकम्पबाट उठ्न नेपाललाई गरेको सहयोगप्रति आभार प्रकट गर्दै भट्टराईले भ्रमण वर्ष सफल पार्न राजदूतहरूको सहयोगको अपेक्षा सरकारले गरेको बताए ।

भ्रमण वर्षको सफल कार्यान्वयनका लागि नेपालस्थित राजदूतहरूको महत्त्वपूर्ण भूमिका हुने बताउँदै भट्टराईले भ्रमण वर्षका बारेमा विश्वभरि सूचना तथा सन्देश प्रवाहका लागि अनुरोध गरे ।

‘भ्रमण वर्षका बारेमा तपाईंहरूको मुलुकमा धेरैभन्दा धेरै सन्देश प्रवाह गरी त्यहाँका नागरिक नेपाल पठाइदिनका लागि अनुरोध गर्छु,’ उनले भने, ‘मेरो अनुरोध छ, यो वर्षको नयाँ वर्ष—२०१९ र क्रिसमस नेपालमै मनाउनुहोस् ।’

३१ देशका पर्यटन मन्त्रीहरूलाई भ्रमण वर्षको उद्घाटन समारोहमा उपस्थितिका लागि सरकारले निमन्त्रणा पठाइसकेको जानकारी दिँदै मन्त्री भट्टराईले आफ्ना देशका पर्यटन मन्त्रीहरूलाई उपस्थित गराइदिनका लागि पहल गर्नसमेत अनुरोध गरे । याे खबर आर्थिक अभियान दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस