चुनावमा कसैले पैसा बाँढे कव्जा गर्न सांसद बस्नेतको आव्हान

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : ४ मिनेट

कार्तिक २७, भक्तपुर। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य, राष्ट्रिय युवा संघ नेपालका इन्चार्ज, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले आगामी मंसिर १४ गते हुने उपनिर्वाचनमा कुनै पनि राजनीतिक दलले पैसा बाँढे कानुनलाई हातमा लिएर नभई साथमा लिएर उक्त रकम कब्जा गर्न युवा तथा विद्यार्थीलाई निर्देशन दिनुभएको छ ।

आज अनेरास्ववियू तथा राष्ट्रिय युवा संघ नेपाल भक्तपुरद्वारा संयुक्त रुपमा भक्तपुर क्षेत्र नं. १ (क)का नेकपाको तर्फबाट प्रदेशसभा सदस्यका उम्मेदवार डिपी ढकाललाई विजय गराउन आयोजित भेलालाई सम्बोधन गर्दै सांसद बस्नेतले विगतको निर्वाचनको समयमा केही राजनीतिक दलले पैसा जनतालाई किन्ने प्रयास गरेको उल्लेख गर्दै उहाँले भन्नुभयो, ‘आगामी निर्वाचनमा पैसाको भरले नेकपालाई हराउन सकिन्छ कि भन्ने कसैले सोचेको भए त्यो सपना मात्र हुनेछ । निर्वाचनमा कुनै राजनीतिक दलले पैसा बाँडेको थाहा पाए युवा विद्यार्थीले कब्जा गर्नु, त्यो पैसा सामाजको विकासमा प्रयोग गरौं ।’

यो निर्वाचनले भक्तपुर नेकपाको हो भनेर कांग्रेस तथा नेपाल मजदुर किसान पार्टी (नेकमकिपा)ले आत्मासमर्पण गर्ने वातावरण सिर्जना हुने दावी गर्दै सांसद बस्नेतले भन्नुभयो, ‘जनतालाई भेडाबाख्रा जस्तो किनबेच गर्ने जमना सकियो । सूर्य उदाएपछि नेकपाको अभियान शुरु हुने र अस्ताएपछि बन्द हुनेछ । अब जनतालाई पैसामा किनवेच हुने सपना नदेखे हुन्छ ।’

निर्वाचनको समयमा पैसा बाढ्न कांग्रेसको अभियान सूर्य अस्ताएपछि शुरु हुने बताउँदै उहाँले निर्वाचनको सुरक्षाको जिम्मा युवा विद्यार्थीको काँधमा रहेको उल्लेख गर्नुभयो । उहाँले उक्त कार्यलाई कडाईका साथ पार्टीले प्रतिवाद गर्ने बताउँदै भन्नुभयो, ‘सूर्य अस्ताएपछि हामी पनि केही गतिविधि गर्दैनौं, गर्नेको पनि रोक्छौं । युवा विद्यार्थी आजकै दिनदेखी चुनाव केन्द्रीत भई पैसाको भरमा भोट किन्ने प्रवृक्तिको अन्त्य गर्न लाग्नुस् ।’

देशभर नेकपाको चुनाव केन्द्रीत कार्यक्रमहरु तिव्र गतिका साथ अघि बढिरहेको जानकारी गराउँदै उहाँले भन्नुभयो, ‘नेकपाको सूर्य अंकित धुनसबाण अघि बढ्यो, चुनावमा विजयी नभएसम्म रोकिँदैन ।’

एजेण्डा सकिएपछि कांग्रेस तथा नेमकिपाले भिरबाट लडेको मानिसले जे भेट्यो त्यही समात्ने गरेको उल्लेख गर्दै उहाँले युवाहरु कसैको दास हैन, देश विकासको पहरेदार हुन । नीति, विचार र सिद्धान्तलाई हेरेर जनताले भोट लगाई जनप्रतिनिधि छनौट गर्नुपर्नेमा जोड दिँदै उहाँले जनतालाई दास ठान्ने जनप्रतिनिधि हैन, सेवक बन्ने जनप्रतिनिधि छान्नुपर्ने बताउनुभयो ।

नेकपामा पार्टी एकताका केही काम बाँकी रहेको र पार्टी भित्र विवाद छ भनि कांग्रेसले अन्तिम पटक टाउको उठाउँदै प्रयास गरेको तर नेकपा भित्र विवाद नरहेको, एक ढिक्का भई अघि बढेको स्पष्ट पार्नुभयो । उहाँले नेकपामा विवाद छ भनि चुनाव जित्छु भन्ने दिवा सपना मात्र भएको समेत बताउनुभयो ।

प्रत्येक बुथमा युवाहरु व्यापक मात्रामा परिचालन गरि अनियमिता तथा भ्रष्टाचारको निमूल पार्दै अघि बढ्नुपर्ने बताउँदै पूर्वउद्योगमन्त्री समेत रहनुभएका सांसद बस्नेतले भक्तपुरमा नेमकिपाले रंगशाला, स्मार्ट सिटी, प्रदेशको राजधानी तथा राष्ट्रिय गौरवका विषयलगायतका कार्यहरुको विरोध गरेको तथ्य प्रस्तुत गर्नुभयो ।

नेपालका विभिन्न भु–भागबाट बसाई सराई गरेर आएका मानिसहरु मादलमा भोट लगाउने नआउने उल्लेख गर्दै युवा संघका इन्चार्ज समेत रहनुभएका सांसद बस्नेतले भक्तपुरमा व्यापक वस्ती विस्तारसँगै नेमकिपाको अस्थितत्व समाप्त हुने दावी गर्नुभयो ।

धनि र गरिवबीचको खाडललाई अन्त्य गर्न नेकपाको नेतृत्व अझै लामो समयसम्म आवश्यक रहेको उल्लेख गर्दै सांसद बस्नेतले नेमकिपा र कांग्रेस संक्रिर्ण, क्षेत्रीय तथा भौगोलिक राजनीतिमा व्यस्त रहेको बताउनुभयो ।

नेकपाको नेतृत्वले अबका दिनमा भक्तपुरमा विकासको शिर निहुराएर हैन, शिरलाई उच्च बनाएर हिड्ने बनाउँदै लगेको उल्लेख गर्दै उहाँले नेकपाले भक्तपुरमा इतिहासमा कहिले पनि नआएको सबैभन्दा बढि बजेट वर्तमान नेकपाको नेतृत्वमा आएको बताउनुभयो । भक्तपुरमा विकासको स्वर्णिम युग शुरु भएको बताउँदै उहाँँले भन्नुभयो, ‘नेकपाको उम्मेदवार पिपलको रुख जस्तै हो, अन्य दलका उम्मेदवार पिपलको वरिपरि रहेका लहरे पिपल जस्ता मात्र हुन । पछिल्लो बेन्चमा बसेर रुदै सरकारको विरोध गर्ने हैन, अघिल्लो बेन्चमा बसेर विकास र समृद्धिको सहयात्री हुने नेता आवश्यक छ ।’

राजनीतिक आडमा भ्रष्टाचार, अनियमिता, हिंसा, कालोबजारीलगायतका कार्य गर्नेलाई सरकारले निर्मम भई कारवाही गरी देशमा सुशासन, शान्ति तथा भ्रष्टाचारमुक्त समाज निर्माणमा तिव्र गतिका साथ अघि बढिरहेको बताउँदै उहाँले विगतको चुनामा उक्त स्थानमा २८ सय को मतअन्तरले नेकपा विजयी भएको र आगामी निर्वाचनमा कम्तिमा त्यसको डबलले जित्ने गरी लाग्न सवै विद्यार्थी, युवा, नेकपाका नेता तथा कार्यकर्तालाई निर्देशन समेत दिनुभयो ।

कार्यक्रममा नेकपा भक्तपुरमा इन्चार्ज दिलिप प्रजापति, सहइन्चार्ज तथा चाँगुनारायण नगरपाकिालका प्रमुख सोम मिश्र, नेकपा भक्तपुरका जिल्ला अध्यक्ष बचन देउजा, उम्मेदवार डिपी ढकाल, राष्ट्रिय युवा संघका संयोजक रामप्रसाद सापकोटा दिपशिखा, सहसंयोजक रमेश पौडेल, अनेरास्ववियूका संयोजक ऐन महरलगायले शुभकामना व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस