मेस्सीको ह्याट्रिकमा बार्सिलोनाको सहज जित

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट

कात्तिक २४, काठमाण्डौं । कप्तान लियोनल मेस्सीले ह्याट्रिक गरेपछि बार्सिलोनाले स्पेनिस ला लिगामा सेल्टा भिगोमाथि सहज जित निकालेको छ । घरेलु मैदानमा शनिबार राति भएको खेलमा बार्सिलोनाले सेल्टा भिगोलाई ४–१ गोलले हरायो ।

बार्सिलोनाको जितमा मेस्सीको ह्याट्रिकसँगै सर्जियो बुस्केट्सले एक गोल गरेका थिए । मेस्सीले फ्रिकिकमा दुई तथा पेनाल्टीमा एक गाल गरेका थिए । सेल्टा भिगोका लुकास ओलाजाले एक गोल फर्काए ।

खेलमा २३औँ मिनेटमा मेस्सीले पेनाल्टीमार्फत गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए । जुनियर फिर्पाेले क्रस गरेको बललाई जासेफ आइडोले पेनाल्टी बक्समा ह्यान्ड गरेपछि प्राप्त पेनाल्टीलाई मेस्सीले सही सदुपयोग गरे ।

४२औँ मिनेटमा सेल्टा भिगोका ओलाजाले पेनाल्टी बक्सबाहिर प्राप्त फ्रिकिकमा उत्कृष्ट गोल गर्दै खेललाई बराबरीमा ल्याए । त्यसपछि मेस्सीले पहिलो हाफको इन्जुरी समयमा फ्रिकिकमा सुन्दर गोल गरे । ४८औँ मिनेटमा मेस्सीले ह्याट्रिक पूरा गरेका थिए । मेस्सीले तेस्रो गोल पनि फ्रिकिकमै गरे । ८५औँ मिनेटमा सर्जियो बुस्केटले गोल गर्दै बार्सिलोनालाई फराकिलो जित दिलाए ।

जितसँगै बार्सिलोना शीर्ष स्थानमा फर्किएको छ । बार्सिलोनाले १२ खेलबाट २५ अंक बनाएको छ ।

समान २५ अंक बनाएको रियाल म्याड्रिड गोलअन्तरमा दोस्रो स्थानमा छ । ९ अंक बनाएको सेल्टा भिगो १८औँ स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस