परासी खानेपानी तथा सरसफाई उपभोक्ता समितिको सपथग्रहण सम्पन्न

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : २ मिनेट
  • बिमल भट्टराई, परासी जिल्ला समाचारदाता

कात्तिक १९, परासी । परासी खानेपानी तथा सरसफाई उपभोक्ता समितिको कार्यसमिति र्निविरोध निर्वाचित भएका अध्यक्षसहितका पदाधिकरीहरुले आज सपथग्रहण गरेका छन् । निर्वाचन समितिले आजै समिति र्निविरोध चयन भएको घोषणा गरेपछि सपथ र पदभार ग्रहण पनि आजै गरिएको हो ।

समितिमा अध्यक्षसहित सात जना सदस्य निर्वाचित भएका छन् । समितिको निर्वाचन कार्यक्रम अनुसार मंगलबार उम्मेदवारी दर्ता कार्यक्रम रहेकोमा आवश्यक संख्यामा मात्रै उम्मेदवारी परेको थियो । खानेपानी समितिको विधान अनुसार कूल ९ सदस्यीय समितिमा सात जना निर्वाचनबाट र दुई जना मनोनित हुने प्रावधान छ । नवनिर्वाचित समितिले अव दुई जना सदस्य मनोनयन गर्दै उपाध्यक्ष, सचिव र कोषाध्यक्षको पद बाँडफाँड गर्नेछ ।

मूख्य निर्वाचन अधिकृत अधिवक्ता कृष्णप्रसाद सिग्देलका अनुसार समितिको अध्यक्षमा खगेश्वर पन्थी तथा सदस्यहरुमा चन्द्रप्रकाश गुप्ता, लक्ष्मीनारायण श्रेष्ठ, वीरेन्द्र अहिर यादव, उमाशंकर उपाध्याय, मोतिकुमारी श्रेष्ठ, नमरुल्लाह मिया निर्वाचित हुनुभएको छ ।

अध्यक्ष नेकपालाई दिएर नेपाली कांग्रेस, समाजवादी पार्टी र राप्रपा संयुक्त मिलेर संयुक्त उम्मेदवारी दिएका थिए । आज दिउँसो ३ बजेसम्म उम्मेदवारी फिर्ता तथा अन्तिम नामावली प्रकाशनको समय रहेको थियो । रामग्राम नगरपालिकाद्धारा गठित तदर्थ समितिले निर्वाचन कार्यक्रम रोक्न माग गर्दै उच्च अदालत बुटवल ईजलासमा रिट निवेदन दिएको छ । अदालतले आगामी २२ गते छलफलका लागि बोलाएको भन्ने अपुष्ट जानकारी मात्रै प्राप्त आएकोले निर्वाचन कार्यक्रममा कुनै अवरोध नआएको निर्वाचन समितिका संयोजक कृष्णप्रसाद सिग्देलले जानकारी दिनुभयो ।

घोषणा समारोहमा नेपाल बार एसोसियसनका जिल्ला अध्यक्ष चुराबहादुर थापा, खानेपानी तथा सरसफाई उपभोक्ता महासंघका केन्द्रीय सचिवालय सदस्य एवं प्रदेश ५ का संयोजक थानप्रसाद गैरे, महासंघका जिल्ला अध्यक्ष राजकुमार श्रेष्ठ, पत्रकार महासंघका जिल्ला अध्यक्ष हरि शर्मा, विभिन्न राजनीतिक दलका प्रतिनिधि, सञ्चारकर्मी लगायतको सहभागीता थियो ।

प्रतिक्रिया दिनुहोस